अघिल्लो निर्वाचनको हैसियत हेरेर सिट वाँड्छौ ः अध्यक्ष नेपाल - News site from Nepal

पर्वत – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँड गरिने बताए ।

समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठवन्धन बनाएर जाने विषयमा दुविधा नभएको बताउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोही अनुसार सहमति हुने बताएका हुन् ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अवस्था के छ भन्नेबारे बाहिर थाहा नभए पनि आगामी निर्वाचनले त्यसको पुष्टि गर्ने उनको भनाइ छ । एमाले त्यागेर आफ्नो नेतृत्वको पार्टीमा आउनेहरूको क्रम तीव्र रहेका कारण आउँदो निर्वाचनले समाजवादीको अवस्थाबारे सबैलाई प्रस्ट पार्ने अध्यक्ष नेपालको दाबी छ । अहिले गठवन्धनमा पछि उम्मेदवार कसरी टुंगाउने भन्ने मोडालिटिको बारेमा छलफल भैरहेको बताए ।
यस्तै‚ उहाँले उम्मेदवार छनोटको मोडालिटी तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको बताउँदै स्थानीय तह‚ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने जिकिर गरे ।
‘गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने प्रवृत्तिविरुद्ध हामी साझा लडाइँमा छौँ,’ अध्यक्ष नेपालले भने, ‘उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ । ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ ।’
अध्यक्ष नेपालले नेपाली अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दलहरू बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफलबाट समाधान गरिनुपर्ने उहाँको सुझाव छ । तर‚ अहिलेको अवस्था सिर्जना हुनुको दोषी ओली नेतृत्वको सरकार रहेको नेपालले आरोप लगाए ।
‘अहिले अर्थतन्त्रमा देखिएको समस्याबारे, देशको प्रगतिको बाधकबारे सबै बसेर छलफल गर्नु आवश्यक छ,’ अध्यक्ष नेपालले भने, ‘अर्थतन्त्रको यो हालत हुनुको कारण भनेको केपी ओली नेतृत्वकै सरकार हो । अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र र संघीयता मात्रै होइन अर्थतन्त्रलाई पनि संकटमा पारेको हो ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!