पर्वत – नेकपा एमालेका प्रदेश सभा १ का उमेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ ।
चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा गएराती आगजनीको प्रयास भएको हो । जिल्लाको जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिनुभयो ।
चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँंगामुडा सहित आगजनीको प्रयास भएको उमेदवार कुँवरले जानकारी दिनुभयो । उहाँले जनताको घरमा नै बास बसिरहेको बेलामा केहि युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांघातिक आक्रमणको प्रयास भएको बताउनुभयो । उमेदवारसँगै रहेका सहयोगीहरु र स्थानीयबासीका कारण थप कुनै ठूलो क्षति नभएको कुँवरको भनाई छ ।
उम्मेदवार कुँवरले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो । डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ । टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुर्याएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति नभएको कुँवरले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडाअध्यक्षका उमेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको एमालेको भनाई छ । कुँवरले आफ्नो जीत सुनिश्चित देखेपछि विरोधीहरु आत्तरिएर आफूहरु माथि सांगातिक आक्रमणमा उत्रिएको बताउनुभएको छ ।
उक्त घटना पछि नेकपा एमाले पर्वतले उम्मेदवारको ज्यान लिने उद्देश्यका साथ भएको उक्त घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग गरेको छ । एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेलले एमालेको पक्षमा जनलहर बढेका कारण विरोधीहरुले आपराधिक शैलीमा उमेदवार माथि आक्रमणको प्रयास गर्नुलाई पाटीले गम्भिरतापूर्वक लिएको बताउनुभयो । उहाँले आरोपितहरुलाई पक्राउ गरी तत्काल कानून बमोजीम कारबाही गर्न मागे गरेका छन् ।
घटनामा संलग्न नरबहादुर रोकाया नाम गरेका युवालाई घटनास्थलबाट स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका छन । थप युवाहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भैरहेको बताउनुभयो ।
उमेदवार माथि आक्रमणको प्रयास भएपछि पर्वत जिल्लाको सुरक्षा प्रशासनमा चुनौति थपिएको छ ।






