कुश्माको मेयरमा गणेश शर्मा पौडेललाई भोट नदिए इतिहासले सराप्ने छ ः सांसद गिरी - News site from Nepal

पर्वत- नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले कुश्मा नगरपालिकाको भावी मेयरका उम्मेदवार गणेश शर्मा पौडेललाई कुश्मा नगरवासीले मतदान नगरे इतिहासले सराप्ने बताउनुभएको छ ।
नेकपा एमाले ठुलीपोखरी वडा कमिटिले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै सांसद गिरीले पर्वत जिल्लाको इतिहासमा विगत ५ दशकदेखि अनवरत रुपमा शैक्षिक, सामाजिक पूर्वाधार विकासमा उहाँले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै व्यक्तिगत सम्पत्ती सकेर जीवनभर जिल्लावासीको हितका निम्ति रगत पसिना बगाउनुभएका पौडेलको बिजयको निम्ति सवैले मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
यो उमेरमा पनि उहाँको जोश, जाँगर र नगर विकास प्रतिको उहाँको लक्ष निकै उत्कृष्ट रहेको र उहाँले यो नगरलाई छोटो समयमै नमुना बनाउने प्रण समेत गर्नुभएकाले नेकपा एमालेमात्र नभई सवै दल निकट कार्यकर्ता र मतदाताले मत दिएर सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गिरीले बहुदलिय व्यवस्थामा कुश्मा नगरपालिका वडा नंं १२ ठुलीपोखरीमा नेकपा एमाले बाहेक अन्य दलहरुले उम्मेदवारहरु खडा गर्न नसक्नु चिन्ताको विषय बनेको बताउँदै पैसामा विकेर आफ्नो मत जाहेर नगर्न आग्रह गर्नुभयो । नेकपा एमाले वाट निर्वाचनमा होमिनुभएका किशोर सापकोटा लगायत पाँचै जना ठुलीपोखरीका सवै राजनीतिक दलका साझा उम्मेदवार भएकाले उहाँलाई मतदान गरी ठुलीपोखरीको विकास र समृद्धिमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिबालय सदस्य मेघनाथ सुवेदीले ठुलीपोखरी एउटा गर्विलो इतिहास बोकेको वडा भएको बताउँदै यो इतिहास र बिरासतलाई कायम राख्नका लागि नेकपा एमालेका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले ठुलीपोखरीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाई लगायतका पूर्वाधारमा जे जति विकास भएको छ त्यो नेकपा एमालेले नै गरेको भन्दै एमाले बाहेक अन्य दलको कुनै योगदान नरहेको ठोकुवा समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पर्वतका लेखा समिति उपाध्यक्ष राजेन्द्र पौडेल, जिल्ला सदस्य ख्याम लामिछाने, नेकपा एमालेवाट वडा अध्यक्षका उम्मेदवार किशोर सापकोटा लगायतले बोल्नुभएको थियो । नेकपा एमाले वडा कमिटि अध्यक्ष ढाकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब भरत सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!