पर्वतमा एचआईभी एड्सका संक्रमितको संख्या बढ्दै - News site from Nepal
पर्वतमा एचआईभी एड्सका संक्रमितको संख्या बढ्दै

पर्वत –  संक्रमित भएर पनि समाजमा लुकिछिपि बस्दा पर्वतमा एचआइभी एड्सका संक्रमितको सख्ंया बढ्दै गएको पाईएको छ ।
समाजमा रहेका एड्स रोगिहरु आफुलाई लागेको रोग लुकाएर राख्ने, नियमित औषधी सेवन नगर्ने, सामाजिक वहिस्करणको डरले लुकिछिपि बस्ने समस्या बढ्दै गएको हो । एड््स नियन्त्रणका लागि धेरै प्रयासहरु भएपनि वर्षेनी बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार पर्वतमा यस वर्ष थप ४ जनामा एड्स रोगको संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लाभित्र १ सय २२ जना एचआईभी संक्रमित रहेको तथ्याङक समेत कार्यालयले सार्वजनिक गरेको छ । संक्रमित मध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ भने ८५ जना एचआईभी संक्रमितले एआरटी औषधि सेवन गरि रहेका छन् । ३७ जना एचआईभी संक्रमितहरु सम्पर्कविहिन रहेको निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । पहिला सवै जनाले अस्पतालबाटै नियमित औषधी सेवन गर्दै आएका थिए ती मध्ये ३७ जना अहिले उपचारका लागि आउन छाडेका छन् भने अस्पतालको सम्पर्कमा समेत छैनन् ।
पालिकागत रुपमा हेर्दा सवैभन्दा बढि कुश्मा नगरपालिकामा ४४ जना, फलेवासमा २५, मोदी गाउँपालिकामा १९, जलजलामा १४, महाशिलामा ११, विहादीमा ७ र पैंयु गाउँपालिकामा २ जना रहेका छन् । जिल्लाभर ५८ जना पुरुष र ६४ जना महिला संक्रमित रहेको कार्यालयले जनाएको छ । ती मध्ये ४ जना बालबालिका समेत संक्रमित रहेका छन् ।
संक्रमितहरुलाई सरकारले निशुल्क औषधी उपलव्ध गराउँदै आएको छ । अहिले पर्वत जिल्ला अस्पतालवाट ७४ जनाले नियमित औषधी सेवन गर्ने गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । असुरक्षित यौन सम्पर्क, यसको मुख्य कारण हो भने सुई र लागु औषध सेवनकर्ताहरुवाट पनि यो फैलदो क्रममा रहेको छ ।
३५औँ विश्व एड्स दिवसको अवसरमा बिहीवार जिल्लामा विभिन्न कार्यक्रम गरी यसको न्यूनिकरणका लागि सचेतना फैलाईएको छ । एड्स अन्त्यका लागि समानताको सुनिश्चितता भन्ने नारा सहित स्वास्थ्य कार्यालय पर्वत, पर्वत अस्पताल र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा प्रभातफेरी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!