गण्डकीमा नेकपाको भागबण्डा : ओली र प्रचण्ड मिले, नेपाल पक्ष एक्लियो - News site from Nepal

पर्वत :  नेपालका दुई ठूला राजनीतिक दलहरू नेकपा एमाले र माओवादी केन्द्र एक भएको घोषणा गरेको ११ महिनापछि सांगठानिक एकतासहित जिल्ला तहको नेतृत्व चयन भए। पूर्वएमाले र पूर्वमाओवादी भन्दै भागबण्डा गरेर ७७ वटै जिल्लाका जिल्ला नेतृत्वहरू घोषणा भएका हुन्। 
  अन्य प्रदेशका जिल्लाहरू जस्तै गण्डकी प्रदेशका जिल्लाहरूमा पनि पुराना दुई पार्टीका नेताहरूलाई पदीय भागबण्डा गरेर नेतृत्व जिम्मा लगाइयो। गण्डकी प्रदेशका ११ जिल्लामध्ये सातवटा जिल्लामा पूर्वएमालेबाट र चार जिल्लामा पूर्वमाओवादी केन्द्रबाट जिल्लाको अध्यक्ष बनेका छन्।
यी हुन ओली र प्रचण्ड पक्षका अध्यक्ष
गण्डकी प्रदेशमा पूर्वएमालेको भागमा सात जिल्लाको नेतृत्व परेको छ भने पूर्वमाओवादीको भागमा चार जिल्ला। एमालेले पाएको सात जिल्लामध्ये ६ जिल्लामा अध्यक्ष ओली पक्षका नेता अध्यक्ष भएका छन् भने एकजना मात्रै वरिष्ठ नेता माधव नेपाल पक्षका छन्। उता,चार जिल्लामा अध्यक्ष पाएको माओवादीमा चारजना नै अध्यक्ष प्रचण्ड पक्षका नेता जिल्ला अध्यक्ष बने।
कास्कीमा कृष्ण थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, पर्वतमा पदम गिरी, तनहुँमा केदार सिग्देल, मनाङमा पाल्तेन छोयाङ् गुरुङ, नवलपुरमा रोशन गाहा अध्यक्ष भएका छन्। उनीहरु सबै ओली पक्षका नेता हुन्। यता, बाग्लुङको अध्यक्ष बनेका इन्द्रलाल सापकोटा चाहिँ माधव नेपाल समूहका नेता हुन्। पर्वतको जिल्ला अध्यक्ष भएका पदम गिरी र मनाङको अध्यक्ष भएका पाल्तेन छोयाङ गुरुङ संघीय संसदका सांसद हुन्।
माओवादीको भागमा परेका चारैजना अध्यक्ष प्रचण्ड समूहका छन्। गोरखाका लेखबहादुर थापा, लमजुङका मधु अधिकारी, म्याग्दीका गोविन्द पौडेल र स्याङ्जाका सूर्यप्रसाद गैरे प्रचण्ड पक्षका हुन्। गोरखाका लेखबहादुर थापा गण्डकी प्रदेशका भूमिव्यवस्था,कृषि तथा सहकारी मन्त्री हुन्। लम्जुङकी जिल्ला अध्यक्ष बनेकी अधिकारी प्रदेशको ११ जिल्लामा एक्ली महिला अध्यक्षसमेत हुन्।
सचिवमा प्रचण्ड पक्षका बढी
नेकपाले ७७ वटै जिल्लामा अध्यक्ष र सचिवको भागबण्डा एकैसाथ टुंग्याएको हो। गण्डकी प्रदेशका ११ जिल्लामा रहेका नेकपाका सचिबमा प्रचण्ड समूहको बहुमत रहेको छ। कास्कीका बखानसिंह तमु, मनाङका बेदबहादुर गुरुङ, तनहुँ राजेन्द्रकेशरी न्यौपाने, मुस्ताङका सत्यनारायण शेरचन, बाग्लुङका ज्ञामनाथ गैह्रे, पर्वतका सुदिप कुँवर प्रचण्ड पक्षका हुन्। गण्डकीको एक जिल्लामा सचिबमा रामबहादुर थापा बादल समूहका एकजना छन्। नवलपुरका सचिव मित्रशरण शर्मा बादल पक्षका नेता हुन्।
एमालेको भागका चार सचिव सबै ओली पक्षका
सात जिल्लामा माओवादी र चार जिल्लामा तत्कालिन एमालेबाट नेकपाको सचिव बनाइएको छ। एमालेको भागमा परेको चार जिल्लामा सबै अध्यक्ष ओली पक्षका नेताहरूलाई सचिव बनाइएको छ। गोरखाका प्रेम गुरुङ, लमजुङका धनन्जय दवाडी र स्याङजाका मीनप्रसाद गुरुङ, म्याग्दी हरिकृष्ण श्रेष्ठ सचिव बने उनीहरू सबै ओली पक्षका नेता हुन्।
गोरखासहित तीन जिल्लामा अन्योल नै अन्योल
जिल्ला तहको नेतृत्व केन्द्रले ११ महिना लगाएर टुंग्यायो। स्थानीय तहको नेतृत्व प्रदेश कमिटीले छलफल गरेर मात्र टुंगो लगाउने प्रावधान छ। मंगलबार पनि नेकपाको प्रदेश कमिटी बसेर स्थानीय तहको नेतृत्वको भागबण्डा मिलाउने प्रयास भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!