पर्वत– नेपाली काँग्रेसकी नेतृ डिलकुमारी पुन नेकपामा पार्टी प्रवेश गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट निवासी पुन बुधवार विहान नेकपा पर्वतको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बीच नेकपामा प्रवेश गर्नुभएको हो ।
उहाँलाई नेकपाका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरी, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी लगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको हो । नवप्रवेशी नेतृ पुनले आफु लामो समयदेखि नेपाली काँग्रेसमा आवद्ध भएपनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको र व्यक्तिवादी सोच र चिन्तनवाट अघि बढेको, पार्टीको हितमा भन्दा पनि नेताहरु व्यक्तिगत स्वार्थमा लागेका कारण उक्त दलमा रहन नसकेको बताउनुभयो ।
उहाँले मुलुकको परिवर्तन गर्न सक्ने पार्टी भनेको नेकपानै भएकाले यसैमा आवद्ध भएर राजनीतिक यात्रा अघि बढाउने र मुलुकको आर्थिक विकास र समृद्धिमा सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसले संगठन सुदृढिकरण र जागरण अभियान थाल्न लागेका बेला सक्रिय नेतृ नेकपामा प्रवेश गरेपछि ठुलो धक्का पुगेको छ ।






