बझाङमा जीप दुर्घटना, ९ को मृत्यु, चार घाइते - News site from Nepal
बझाङमा जीप दुर्घटना, ९ को मृत्यु, चार घाइते

बझाङ : बझाङ सदरमुकाम चैनपुरको डुङग्री भन्ने स्थानबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
सोमबार दिउसो २:४५ मा उक्त जीप दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ। जीप दुई सय मिटर भीरमा खसेकाले घाइतेहरूको उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ।
भीरबाटै पनि चार जनाको उद्धार गरिसकेको डीआईजी केसीले बताए। दुर्घटनाग्रस्त जीप भीरमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।
प्रमुख जिल्ला अधिकारी सुनारले हेलिकप्टरबाट घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याउने प्रयास भइरहेको बताए। जीपको गियर फेल भएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। गियर डाउन गर्दा फ्रि भएपछि स्पिडमा रहेको जीप दुर्घटना भएको हुन सक्ने डीआईजी केसीले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!