पर्वतको लेकफाँटमा शुरु भयो महायज्ञ, अध्यक्ष मल्लद्धारा उद्घाटन - News site from Nepal

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले आज उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ र धर्मको माध्यमबाट देश र दुनियामा विकासका ठूला(ठूला भौतिक संरचनाहरू निर्माण भएकोले हिन्दु धर्ममा ठूलो शक्ति रहेको वताउनु भयो ।
अध्यक्ष मल्लले गाउँबाट बसाईंसराई गरेर बाहिर गएको जनशक्तिलाई पुनः गाउँ फर्काउन नसकेसम्म गाउँमा भौतिक संरचना निर्माण गर्नुको औचित्य नरहेको वताउँदै विकास र समृद्धिको लागि गाउँ छोडेर अन्यत्र गएकाहरूलाई आफ्नै गाउँमा फर्कन आग्रह समेत गर्नुभयो । अध्यक्ष मल्लले वर्तमान सरकारले गाउँ(गाउँमा सिंहदरबार आयो भनेर जनतालाई झुक्काएको तर अधिकारहरू केन्द्र र प्रदेशमा सिमित गरेको आरोप समेत लगाउनु भयो । नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले सरकारलाई कुरामा भन्दा काममा ध्यान दिन सुझाव दिँदै रेल र पानीजहाजको कार्यालय स्थापना गर्नुभन्दा देशका सबै गाउँमा कच्ची बाटो पुर्याएर देखाउन चुनौति दिनुभयो ।
मल्लले स्थानीय श्रोतसाधनलाई उपयोग गरेर जनतालाई करको भारबाट मुक्त गर्ने आफ्नो योजना भएपनि स्थानीय श्रोतसाधनमाथि पनि केन्द्र र प्रदेशले हस्तक्षेप गरेका कारण गाउँपालिकाले जनतालाई कर लगाउन वाध्य भएको जानाकारी समेत दिनुभयो । कार्यक्रममा प्रमुख कथा बाचक एवं भागवत भाष्कर कमलनयन गौतमले गिद्धेश्वरमा अवस्थित शिवालय मन्दिर २ सय बर्ष पुरानो प्राचीन मन्दिर भएको उल्लेख गर्दै मन्दिरको जिर्णोद्वार र महायज्ञको सार्थक सफलताका लागि मन फुकाएर सहयोग गर्न सबै जलजलाबासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य ओमप्रसाद रेग्मीले विकास निर्माणका लागि धर्मको साहारा लिनुपर्ने भएकोले धर्मको संरक्षण गर्न आवस्यक भएको धारणा राख्नुभएको थियो । सोही कार्यक्रममा बरिष्ट चन्दादाता एवं जिविस चितवनका पूर्व उपसभापति देवेन्द्रप्रसाद सुबेदी जलजला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्रीस वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल वडा नं ५ का वडा अध्यक्ष तिलकबहादुर जिसी,नेपाल ठकुरी समाजका पूर्व केन्द्रीय अध्यक्ष कमल मल्ल,नेकपा जलजलाका संयोजक टुङ्गनाथ पौडेल, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी लगायतले बोल्नुभएको थियो ।
महायज्ञ मूल आयोजक समितिका संयोजक सुवेदार भीमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन जलजला गाउँपालिकाका सल्लाहकार यम शर्मा पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य महायज्ञ मूल आयोजक समितिका महासचिब कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो । शिवालय संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा फागुन ४ गतेदेखि ११ गतेसम्म संचालन हुन लागेको उक्त श्रीमद भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञको प्रमुख कथाबाचक भागवत भाष्कर पण्डित कमलनयन गौतम हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!