पशुपतिले ‘लुट्न सके लुट कान्छा’ गीतमा केही शब्द परिमार्जन गरेर फेरी ल्याउने - News site from Nepal

काठमाडौं– चर्चित लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’  आधिकारिक  यु–ट्युब च्यानलबाट हटाए पनि एकथरी शुभचिन्तकहरूले भने भाइरल बनाएका छन् । युट्युब तथा फेसबुकमा उक्त गीत जताततै भेटिन्छ । उनीहरूले गीत हटाउन बाध्य पारिनुको पछाडि ठूलै चलखेल भएको फेसबुकमै प्रतिक्रिया पनि दिएका छन् ।

यता, गायक शर्माले भने  कसैलाई आक्षेप नलगाई गीतका केही शब्द परिमार्जन गर्ने र पुनः गीत लिएर आउने वाचा सहित एक विज्ञप्ति जारी गर्दै गीत हटाएको जानकारी दिएका छन् ।

उनले आफूले राजनीतिलाई त्यति गहिराईबाट नबुझ्को तथा राजनीतिक आग्रह पूर्वाग्रह पालेर पनि त्यो गीत नबनाएको स्पष्ट पार्दै देशमा शुशासन कायम हुनुपर्छ भन्ने मान्यताका साथ गीत व्यंग्यात्मक तरिकाले ल्याइएको जनाएका छन् ।

तर, गीत हटाउनुका पछाडि गीतका शब्दमा शुभचिन्तकको असन्तुष्टि रहेको बताएका छन् । जुन जुन शब्दमा असन्तुष्टि देखिएको छ ती शब्दहरु फेर्नु दायित्व भएको सम्झिदै उनले गीत परिमार्जन गरेर चाडै ल्याउने बताएका छन् ।

त्यस्तै, गीत सुनेर सुझाव दिने राजनीतिक व्यक्तित्व, अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिँदै उनले गीतले कुनै व्यक्ति विशेष, संस्था वा राजनीतिक दललाई परेको अफ्ट्यारोप्रति माफी समेत मागेका छन् ।

उनले जारी गरेको विज्ञप्तिको अन्तमा लेखेका छन्– ‘एउटा सचेत नागरिकका साथै कलाकारको नाताल देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।’

तर, समसामयिक विषय वस्तु र वर्तमान यथार्थमाथिको तिखो व्यंग्यलाई शुभचिन्तकले असन्तुष्टि जनाएकै हुन् त ? पशुपतिमाथि नै प्रश्न गर्ने अनेक ठाउँ छन् । त्यसमाथि उनी स्वयंले शब्द परिमार्जन गरी चाँडै गीत ल्याउने समेत स्पष्ट पारेको हुँदा कुन कुन शब्द परिमार्जन गर्ने हुन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

यस्ताे छ उनले जारी गरेको वज्ञप्ति

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद । 
पशुपती शर्मा

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!