पर्वत- सृजना वाचनलगायतका विभिन्न गतिविधि गरी २०६ औं भानुजयन्ती कुश्मामा भब्यतापूर्वक मनाइएको छ ।
जिल्लाकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य सङ्गमको आयोजनामा जयन्ती मनाउने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पु¥याउनुभएको देनका बारेमा विभिन्न बक्ताहरुले चर्चा गर्नुभएको थियो । सङ्गमका निवर्तमान अध्यक्ष तथा साहित्यकार इन्द्रमान खत्रीले भानुभक्त आचार्यले तात्कालीन नेपाली समाजलाई चेतनाकरण गर्न तथा राजनैतिक जागरण फैलाउन ठूलो योगदान दिनुभएको चर्चा गर्दै नेपाली भाषा साहित्यलाई आजको अवस्थासम्म ल्याइपु¥याउन भानुले जग राख्ने काम गरेको बताउनुभयो ।
पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले नेपाली साहित्यको जग बसाउने काममा महत्वपूर्ण योगदान दिएका भानुभक्त प्राथमिक कालका विशिष्ट प्रतिभा भएको र संस्कृत अध्यात्म रामायणबाट नेपालीमा अनुवादित उनको रामायणले आजसम्म नेपाली समाजमा भिन्दै छाप छोड्न सफल भएको चर्चा गर्नुभयो ।
नमुना आवासीय माविका अध्यक्ष यमप्रसाद शर्माले भानुभक्तकै प्रेरणाले पछिल्लो पुस्ताका धेरै साहित्यकारहरु नेपाली संस्कृति, कला, भाषा तथा साहित्यको जगेर्नामा लागिपरेको बताउनभयो । कार्यक्रममा साहित्यकारहरु इन्द्रकुमार विकल्प, कुलप्रसाद उपाध्याय, यम ढुंगाना केसी, डिआर शर्मा, दीपसागर पौडेल, गीता अधिकारी, मगर प्रेम, ठाकुर रसाईली, मिना गुरुङ, सीता पौडेललगायतले आदिकवि भानुभक्त सम्बन्धी विभिन्न विद्याका सिर्जनाहरु वाचन गर्नुभएको थियो ।
कुश्मास्थित नमुना आवासीय माविको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले गर्नुभएको थियो भने सञ्चालन सचिव खेमराज शर्मा चापागाईले गर्नुभएको थियो ।
भानुभक्त आचार्यको जन्म विसं. १८७१ असार २९ गते आइतबारका दिन गण्डकी अञ्चल तनहुँ जिल्लाको रमाइलो गाउँ चुँदी रम्घामा भएको हो। रामायणबाहेक उनका रामगीता, भक्तमाला, वधूशिक्षा र प्रश्नोत्तरी कृतिहरू पनि चर्चित छन्।






