पर्वत- आगोलागी भएपछि बन्द भएको पर्वतको पहिलो सामुदायिक रेडियो पर्वत १०३.६ मेगाहर्ज पुनः संचालन गर्नका लागि प्रवासी पर्वतेली युवाले आर्थिक सहयोग गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी घर भई हाल अमेरिकामा रहेका भीष्म अधिकारीले रु ३ लाख रुपैया सहयोग गरेका हुन् । मंगलवार राती एक बजेको समयमा भएको आगालागीबाट रेडियोका पुरै सामग्रीहरु नष्ट भएका थिए । उक्त आगालागीबाट झण्डै तीस लाख रुपैयाको क्षति भएको थियो । विद्युत सर्ट भएका कारण आगालागी भएको हो ।
आगलागीबाट पुर्ण रुपमा बन्द अवस्थामा रहेको रेडियो तुरुन्तै सञ्चालन गर्नका लागि अधिकारीले तुरुन्तै उक्त रकम सहयोग गर्नुभएको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गणेश पौडेलले जानकारी दिनुभयो । पौडेलको अनुरोधमा अधिकारीले रकम पठाईदिनुभएको थियो ।

आफ्नो जन्म भूमिका क्रियाशिल रहेको एउटा सञ्चार माध्यममाथि आईपरेको विपत्तिमा थोरै भएपनि सघाउ पु¥याउने उद्धेश्यले उक्त रकम सहयोग गरेको अधिकारीले बताउनुभयो । आम नागरिकलाई सुसुचित गराउने सञ्चार माध्यमको पुनः संचालनका लागि उक्त रकम व्यक्तिगत सहयोग गरेको र अन्य आर्थिक संकलनका लागि पनि पहल गर्ने उहाँले बताउनुभयो ।
अधिकारी समेत इन्जिनियर समेत हुनुहुन्छ । उहाँ परिवारसहित अमेरिकामा रहनुभएको बताइएको छ ।
उक्त रकम यही जेठ ३२ गते नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको पोखरामा सम्पन्न हुन लागेको प्रथम साधारणसभाको उद्घाटन समारोहमा रेडियोलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको महासचिब पौडेलले जानकारी दिनुभयो । उक्त रकम सँगसँगै अन्य निकायलाई पनि सहयोगका लागि आग्रह गरिएको छ ।






