
पर्वत – एसईई परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महिनावारीलाई सहज रुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताउनुभयो ।
चैत्र १० गतेदेखि सुरु हुने एसईई परिक्षामा पर्वतमा २ हजार ८ सय ७४ विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा १ हजार ४ सय ३७ छात्र र १ हजार ४ सय ३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा संख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरिदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्वतलाई १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ ।
चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले छात्रा परीक्षार्थीहरुका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा सेनेटरी प्याड खरिदका लागि झण्डै ५ लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राहरुको संख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयका महिला विकास निरीक्षक देवी शर्माले जानकारी दिनुभयो । जिल्ला शिक्षा विकास समन्वय इकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै छात्रा विद्यार्थी संख्याका अनुपातमा परिक्षा केन्द्रहरुमा सेनेटरी प्याड वितरण गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।