
पर्वत– २४ औ जनयुद्ध दिवस पर्वतमा पनि शहिदहरुको सम्झना गरेर मनाईएको छ । नेकपा पर्वतको आयोजनामा विगतका विभिन्न आन्दोलनहरुमा शहादत प्राप्त शहिदहरुको सम्झाना गरी जनयुद्ध दिवस मनाईएको हो ।
नेकपाको कमार्यालयमा आयोजित चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं प्रदेश नं ४ का सचिब गोविन्द नेपालीले जनयुद्व समाजवाद स्थापनाको आधार भएको बताउनुभएको छ । नेपालीले तत्कालिन नेकपा माओवादीले शुरवात गरेको जनयुद्वका कारण मुलुकमा यति छिटै परिवर्तन आएको बताउँदै नेपालीले सामन्तवादको जरो खल्वल्याएको र जनआन्दोलनले निरङ्कुशतन्त्रको अन्त्य गरेको बताउनुभयो । उहाँले अहिले पार्टीको सवै तहमा एकीकरण भै नसकेकोले केहि संक्रमण जस्तो देखिएको बताउँदै एकीकरण पनि मुलुकको परिवर्तनले छिटै फड्को मार्ने बताउनुभयो । उहाँले अवको कार्यदिशा समृद्धि र विकासको भएकाले यसकै लागि दुई ठुला शक्ति मिलेर नेकपा बनेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गुप्त हमालले मुलुकको आमुल परिवर्तनका लागि जनयुद्वको सुरुवात भएको बताउँदै २०५२ साल फाल्गुन १ गते नयाँ जनवादी व्यवस्थाका लागि तात्कालिन माओवादीले जनयुद्व शुरु गरेको र जनयुद्वको जगमा परिवर्तन भएको बताउनुभयो ।
उहाँले दुई ठूला वाम शक्तिबीचको एकताले मुलुकमा आर्थिक समृद्धि र सुखि नेपालीको सपना पुरा गर्ने बताउँदै राजनीतिक परिर्वतनका लागि जनयुद्व एवं जनआन्दोलन र आर्थिक समृद्धिका लागि वाम एकता भएको बताए ।
कार्यक्रममा जिल्लास्थित क्रियाशिल विभिन्न राजनीतिक दलका नेता, तथा कार्यकर्ता, जनप्रतिनिधिहरु, सरकारी कर्मचारी पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत जिल्ला संयन्त्र सदस्य तथा फलेवासका नगरप्रमुख पदमपाणी शर्मा र संचालन गोविन्द पहाडीले गर्नुभएको थियो ।
नेकपाले आजै साँझ दिप प्रज्वलन समेत गर्ने भएको छ ।