काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग संघीय संसदकाे तर्फबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टचार भेटवार्ता गर्नुभएको छ।
काठमाडौंकाे साेल्टी हाेटलमा शनिबार साँझ भएकाे भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल भ्रमण गर्नुभएकाेमा नेपाली जनता खुसी भएकाे र भ्रमणका लागि धन्यवाद व्यक्त गर्नुभयाे। उहाँले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धीकाे यात्रामा अगाडि बढेको जानकारी गराउँदै मित्रराष्ट्र चीनकाे सहयाेग अपरिहार्य हुने बताउनुभयो ।
नेपाललाई चीनकाे तर्फबाट भइरहेकाे निरन्तर सहयाेगका लागि धन्यवाद व्यक्त गर्नुभयाे।
‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका बिरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनाैं,’ भेटका क्रममा उहाँले भन्नुभयाे। त्यसैगरी चीनले अगाडि सारेकाे बेल्ट एण्ड राेड इनिसियटिभ (बिअारअाई) मा नेपाल साझेदार बन्न पाउँदा अाभारी रहेकाे र परियाेजनाकाे सफलताकाे शुभकामना व्यक्त गर्नुभयो ।
भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालकाे समृद्ध नेपाल, सुखी नेपालीकाे नारालाई सफल बनाउन चीन सबै किसिमका सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे।
‘नेपालकाे संसदकाे तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु,’ राष्ट्रपति सीले भन्नुभयाे।
यसैबीच अध्यक्ष तिमिल्सिना राष्ट्रपति सीकाे स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकाे थियाे।






