पर्वतको लुंखुदेउरालीका टोल टोलमा सौर्यवत्ती जडान, गाउँ झिलिमिलि - News site from Nepal

पर्वत– पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ ।
रातीको समयमा स्थानीयबासीलाई हिडडुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनिकरण गर्नका लागि सौर्यवत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विदालय, स्वास्थ्यचोकी, वडा कार्यालय लगायत सार्वजनिक स्थलहरुमा सौर्यवत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
लोडसेडिङ्गको बेला पनि गाउँमा पैदलयात्रा गर्नेहरुलाई सहज र चोरीडकैतीका घटनाहरु नहोउन् भन्ने उद्धेश्यले महाशीला गाउँपालिकाको आर्थिक सहयोगमा सौर्य सडक वत्ती जडान गरिएको उहाँले बताउनुभयो । सौर्य वत्ती जडान भएपछि लोडसेडिङ्गको बेला पनि उज्यालो हुने भएको छ ।
साविक लुंखुदेउरालीका झण्डै एक दर्जन स्थानमा सडक वत्ती विस्तार गरिएको हो । एउटा बत्तीले ५० मिटर वरपर उज्यालो दिने बताइएको छ । लुंखुदेउरालीको एकपाटेमा रहेको वडा कार्यालय परिसर, स्वास्थ्य चौकी, महेन्द्रज्योती मावि, प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशीला, मिलनचोक–देउराली पदमार्गको प्रतिक्षालय लगायतका स्थानहरुमा बत्ती विस्तार गरिएको उच्चैले बताउनुभयो ।
गाउँ पालिकाको झण्डै पाँच लाख रुपैयाको लागतमा वत्ती जडान गरेपछि स्थानीयवासीहरुलाई सहज भएको छ । पछिल्लो समय धार्मिक एवम् पर्यटकीय हिसावले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढ्दै गएका बेला सडक बत्ती जडान गरेपछि अझै सहज हुने भएको छ ।
एशियाकै ठुलो महाशीला, धुँवाकोट, चिसापानी, विभिन्न गुफा तथा गुम्वा र स्थानीय समुदायको संस्कृति यस क्षेत्रका मुख्य पर्यटकीय आकर्षणका रुपमा रहेका छन् । यस अघि पर्वतको सदरमुकाम कुश्मा, दोस्रो व्यापारिक केन्द्र डिमुवा, वारीबेनी लगायतका बजार क्षेत्रहरुमा पनि सौर्य वत्ती जडान गरिएको थियो । सौर्य वत्ती जडान पछि चोरी डकैती लगायत गैरकानूनी क्रियाकलापमा कमी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!