पर्वतको ठुलीपोखरीबासीलाई खुसीको खबर ! बृहद खानेपानी योजनाका लागि २ करोड १० लाख बिनीयोजन - News site from Nepal

पर्वत– खानेपानीको अभावमा वर्षौदेखि काकाकुलको नियती भोग्दै आएको पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका बासिन्दा अब भने घर घरमै खानेपानी सुविधा उपभोग गर्न पाउने भएका छन् ।
खानेपानीको समस्या झेलिरहेका स्थानीयको समस्यालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले बजेट बिनीयोजन गरेपछि खानेपानी आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको हो । गण्डकी प्रदेश भौतीक पूर्वाधार विकास मन्त्रालयबाट रु २ करोड १० लाख रुपैया बिनीयोजन भएको हो । बजेट बिनीयोजन भएसँगै तत्काल खानेपानी आयोजनाको निर्माण कार्य शुरु हुने भएको छ ।
साविक ठुलीपोखरी गाविसका वडा नं. ३, ४, ६, ७, ८ र ९ वडामा अहिलेसम्म कुनैपनि आयोजना प्रभाबकारी रुपमा संचालन हुन नसकिरहेका बेला उक्त आयोजना संचालन हुने भएपछि स्थानीयवासी लाभान्वित बनेका छन् । झण्डै डेढ दशक अघि बनेको टुनीखोला खानेपानी आयोजना अलपत्र बनेपछि आकाशे पानीको भरमा जीवन गुजारा गर्दै आएका स्थानीयको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले क्रमागत योजना अन्तर्गत बजेट बिनीयोजन गरेको हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको विशेष पहलमा उक्त बजेट बिनीयोजन भएको हो । आफु पटक पटक ठुलीपोखरीमा विभिन्न कार्यक्रमको शिलशिलामा जाँदा स्थानीयले खानेपानीकै समस्या राखिरहेकाले मुख्य प्राथमिकता दिएर बजेट बिनीयोजन गर्न सफल भएको मन्त्री विकास लम्सालले बताउनुभयो । उहाँले अहिले दुई करोड दश लाख रुपैया मात्र बिनीयोजन भएपनि योजनाका लागि लाग्ने सवै बजेटको व्यवस्थापन गर्न पहल गर्ने बतानुभयो ।
उक्त योजनाका लागि एमाले नेता मेघनाथ सुवेदी, मन्त्री लम्सालका स्वकीय सचिब किशोर सापकोटा, नेकपाका नेता ढाकाराम गौतम सन्देश र युवा नेता ढाकाराम सापकोटा लगायतले अघि बढाउन सक्रियता देखाउनु भएको थियो ।
बजेट बिनीयोजन भएर आएसँगै खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाउन थालिएको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय बागलुङका प्रमुख प्रेमकुमार डोटेलले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै अधिकांस काम सम्पन्न गरिसक्नुपर्ने भएकाले अब छिट्टैनै आयोजनाको काम शुरु हुने जानकारी दिनुभयो ।
उक्त आयोजनाको लागि पानी मुहान झण्डै १४ किलोमिटर टाढा रहेको पञ्चासेको फेदीमा पर्ने चिलाउनेखोला र टुनीखोलाबाट ल्याउनगरी डिजाईन, स्टिमेट तयार गरिसकिएको छ । निकै लामो दुरीबाट ल्याउनुपर्ने भएकाले आयोजनालाई दिगो र प्रभावकारी बनाउने हिसावले काम भैरहेको डोटेलले जानकारी दिनुभयो । उक्त आयोजनाको कुल लागत भने करिब ८ करोड रहेको छ । आयोजनाबाट स्थानीय तीन हजार भन्दा बढि बासिन्दाहरु लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!