प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न - News site from Nepal
प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
पर्वत– प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलव्ध गराउन गण्डकी प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले आफु मन्त्री भएपछि प्रदेश अन्तर्गतका सवै अस्पतालहरु स्तरोन्नती भएको र सेवा सुविधाका हिसावले समेत सुविधा सम्पन्न भएको बताउँदै अझै केहि स्थानमा जनशक्ति अभाव रहेकाले यसको व्यवस्थापन समेत छिटै गरिने बताउनुभयो ।
उहाँले स्वास्थ्य नै नागरिकको सवैभन्दा महत्वपुर्ण सरोकारको विषय रहेको बताउँदै उहाँले जिल्लामै सवै प्रकारका उपचार सेवा उपलव्ध हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाठकले संघीय सरकारले पनि स्वास्थ्य क्षेत्रको बजेट र दायरालाई फराकीलो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख ज्ञानप्रसाद अर्याल, पर्वत अस्पतालका निवर्तमान अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिकाका प्रवक्त लालकृष्ण बास्तोला, लायन्स क्लव अफ पर्वतका पुर्व अध्यक्ष बसन्तकुमार कर्माचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले अस्पतालका सेवाहरु, उपलव्धि र चुनौतीहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश अस्पताल पर्वत व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर परियार शिवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विशाल गिरीले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, डाक्टर, विभिन्नप्रतियोगितामा उत्कृष्ट बनेका कर्मचारी र सहयोगी निकायहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!