पर्वत १६ असार : जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
सदरमुकाम कुश्माबजारमा मंगलवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य सरोकारवालाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो ।
पर्वतमा रहेका जन्मेदेखि १५ महिनासम्मका एक हजार चार सय ३९ र १६ देखि २३ महिना सम्मका आठ सय ९२ जना बालबालिकाले पुर्ण मात्रामा खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई नै पुर्ण खोप सुनश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति पर्वतले जनाएको छ । यस अघि जिल्लाका सातवटै पालिकालाई पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको थियो भने त्यो भन्दा पहिला जिल्लाका ६१ वटै वडालाई पुर्ण खोप सुनिश्चित भएको वडाको रुपमा घोषणा गरिएको थियो ।
कार्यक्रमका जिल्ला समन्वय समिति प्रमुख विष्णुराम बिकले पूर्ण खोप सुनिश्चितता घोषणा पर्वत जिल्लाका लागि गौरवको विषय भएको उल्लेख गर्दै सबै सरोकारवालाको संयुक्त प्रयासबाट यो सफलता सम्भव भएको बताउनुभयो । “पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको एउटा उपलब्धि मात्र होइन, यो हाम्रा बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता हो । यसलाई दिगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्छ ।“ उहाँले भन्नुभयो ।
खोप सुनिश्चित तथा दिगोपना कायम गर्नका लागि आगामी दिनमा पनि अभिभावकहरु सचेत हुनुपर्नेमा कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । बालबालिकाको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन र विभिन्न खालका संक्रमणवाट जोगाउनका लागि खोपको पुरै मात्रा लगाउनुपर्ने गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिब खिमबहादुर खड्काले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटो लगायतले स्वास्थ्य क्षेत्रको संवेदनशिल कार्यक्रमको रुपमा रहेको खोप अभियानलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका प्रमुख बद्रीराज आचार्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी जिल्लाको प्रतिवेदन प्रस्तुत गर्दै पर्वत जिल्लाले राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पूरा गरेको जानकारी गराउनुभयो । उहाँले नियमित खोप सेवा, घरधुरी सर्वेक्षण, छुट बालबालिकाको खोजी तथा स्थानीय तह, स्वास्थ्य संस्था र समुदायको सक्रिय सहभागिताका कारण पर्वतले पूर्ण खोप सुनिश्चितता हासिल गर्न सफल भएको बताउनुभयो ।






