पर्वत, १५ चैत : शिक्षा, स्वास्थ्य तथा प्राकृतिक विपत्तिहरूमा अग्रणी भूमिका खेल्दै आएकोे ग्लोबल समाज पर्वतको आयोजनामा फलेवासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
फलेवासको देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना भएको शिविरमा करिब चार सय जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा मुटु रोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य रोगहरूको परीक्षण तथा परामर्श तथा कार्डियो डाइबेटिक सम्बन्धी विशेषज्ञ परामर्श दिइएको थियो ।
शिविरमा ओम मेगाश्री फर्मास्युटीकल्स र मेडिप्लस हस्पिटल तथा अन्य स्वास्थ्य संस्थाका करिब ४० जना चिकित्सकहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो । ग्रामीण क्षेत्रमा रहेका बासिन्दाहरू चाहेको समयमा अस्पतालसम्म जान नसक्ने, विशेषज्ञ सेवा ग्रामीण क्षेत्रमा उपलब्ध नहुने, विशेषज्ञ सेवा पाउनको लागि जिल्ला बाहिरका अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा समाजले शिविर आयोजना गरेको हो ।
विभिन्न बाध्यताले समयमानै उपचार पाउन नसकेकाका नागरिकहरूलाई लक्षित गरेर शिविरको आयोजना गरिएको ग्लोबल समाज पर्वतका महासचिव कमल लामिछानेले बताउनुभयो । ‘हामी विदेशमा रहे पनि हाम्रो भावना सदैव हाम्रो जन्मभूमिप्रति नै केन्द्रित छ । हामी जहाँ रहे पनि यहाँ रहनुभएका हाम्रा बुबा आमा तथा दाजुभाइ दिदीबहिनीका खातिर केही न केही योगदान गर्दै आइरहेका छौँ ।
कोभिड होस वा प्राकृतिक विपद्, हामी दुखेको घाउमा सकेसम्म मलहम लगाउने प्रयास गर्दे आएका छौँ’, उहाँले भन्नुभयो, ‘विगतमा पनि हामीले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद् र महामारीमा नै केन्द्रित भएर काम गरेका थियौँ । अब पनि हामी सामान्य व्यक्तिलाई थोरै भए पनि सहज र राहत हुने गरी नै काम गर्ने छौँ ।’
ग्लोबल पर्वत समाजको आयोजनामा भएको शिविरको सहआयोजक ओम मेगाश्री फर्मास्युटीकल्स र मेडिप्लस हस्पिटल तथा फलेवास नगरपालिकाको व्यवस्थापकको भूमिकामा रहेका थिए । ग्लोबल समाज पर्वतले विगतमा अन्तर्राष्ट्रिय पर्वत समाजको रूपमा सामाजिक कामहरू गर्दै आइरहेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा रहेका पर्वतेलीहरूको साझा संस्थाका रूपमा यसले काम गर्दै आइरहेको छ । विगतमा भूकम्प, कोभिड १९, शिक्षा, स्वास्थ्य लगायतमा ठुलो आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको समाजले हाल मात्रै प्रदेश अस्पताल पर्वतमा करिब रु.४० लाखको लागतमा सौन्दर्यीकरणको काम पूरा गरेको छ ।






