मोदीका साढे १३ सय नागरिकको आँखा परिक्षण, ५१ जनाको फर्कियो ज्योती - News site from Nepal

पर्वत, १६ चैत : पर्वतको मोदी गाउँपालिकाका विभिन्न वडामा निःशुल्क आँखा शिविर संचालन गरी एक हजार तीन सय ५८ जना नागरिकको आँखा परिक्षण गरिएको छ ।

पोखरा व्यवसायी महिला क्लबको आयोजना, मोदी गाउँपालिकाको समन्वय तथा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक हजार तीन सय ५८ जनाको आँखा परिक्षण गरिएको हो ।

चैत ८ गतेदेखि १५ गतेसम्म गाउँपालिकाका आठ वटै वडामा सञ्चालन गरिएको शिविरमार्फत सेवा ग्राहिले आँखा जाँच तथा स्क्रिनिङ सेवा लिएका थिए । जाँचका क्रममा ५१ जनामा मोतियाबिन्दु देखिएको थियो । उनिहरुको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरि आँखाको ज्योती फर्काईएको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो । पहिले परिवारको सहारा लिएर शिविरमा आएका बृद्धबृद्धा आँखा उपचार पछि आफै घर फर्किन सक्ने भएका छन् ।

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योती गुमाएर बस्नुभएका बृद्ध बृद्धाहरु यस शिविरबाट लाभान्वित भएको बताउनुभयो । उहाँले गाउँमै शल्यक्रिया सेवा उपलव्ध गराएकोमा हिमालयन आँखा अस्पताल तथा पोखरा व्यावसायी महिला क्लबलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

ग्रामीण क्षेत्रमा संचालन गरिने स्वास्थ्य शिविरहरूले गरिब, असहाय, बिपन्न तथा धेरै उमेर नाघेका बृद्ध बृद्धा नागरिकलाई सहजता मिलेको उपाध्यक्ष लामिछानेले बताउनुभयो । वर्षौदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका बृद्धबृद्धाहरु आँखाको ज्योती फर्किएपछि हर्षित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!