पर्वत १३ माघ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका उम्मेदवार मनहरी शर्माले मंगलवारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका तिमिल्सिनाले आफ्नै जन्मगाउँ मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीवाट अभियान शुरु गर्नुभएको हो । तिमिल्सिनाहरुको कुल मन्दिरमा अभियानको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै उम्मेदवार तिमिल्सिनाले पर्वत जिल्लाको विकास र समृद्धिका लागि गहन अध्ययन र खाका सहित आफु चुनावी मैदानमा आएको बताउनुभयो ।
उहाँले जिल्लाका अन्य उम्मेदवार भन्दा आफु युवा, विभिन्नि विषयमा विज्ञता राख्न सक्ने र पर्वतको भुगोललाई बुझेको तथा पछिल्लो परिवर्तनको आवश्यकतालाई महसुस गर्न सक्ने व्यक्ति भएकाले पर्वतवासीले आगामी निर्वाचनमा आफुलाई बिजयी गराउने अपेक्षा व्यक्ति गर्नुभयो । उहाँले घरदैलोको अभियानका क्रममा आगामी पाँच वर्षमा आफुले गर्न सक्ने र यस अघि दुई वर्षसम्म विभिन्न विषयविज्ञले गरेको अनुसन्धानवाट तयार गरिएको दस्तावेजहरु मतदातामाझ प्रस्तुत गरिने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, जुडिवुटी र प्रविधिको क्षेत्रमा परिवर्तन नगरेसम्म पर्वत जिल्लाको समृद्धि नहुने भएकाले यो विषयमा आफुले विशेष रिसर्च गरेर योजनाहरु तय गरेको बताउनुभयो । तिमिल्सिनाले यस अघि सोमवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी भावि योजनाहरु सार्वजनिक गरिसक्नुभएको छ ।
यस अघिका सांसदहरुले पनि जिल्लाको विकासका लागि जे जति गर्नुभएको छ उहाँहरुले गर्न नसकेका कामहरु आफुले अघि बढाउने उहाँको प्रतिवद्धता रहेको छ । अर्जुन जोशी, पदम गिरी, सागर भुसाल लगायतका उम्मेदवारहरुलाई पर्वतको विकासको जिम्मा आफुलाई सुम्पन उहाँले आग्रह गर्नुभएको छ ।
अभियान शुभारम्भ कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा बिमला, नेकपा केन्द्रीय सदस्य मोती पौडेल, नेकपा नेता गुप्त हमाल लगायतले सम्वोधन गर्नुभएको थियो ।
आजदेखि शुरु भएको अभियान जिल्लाका सातवटै पालिकाका ६१ वटै वडा र टोलटोलमा पुग्नेगरी कार्यतालिका निर्माण गरिएको छ । नेकपा पर्वतका नेता विराज हमालका अनुसार आजदेखि १६ गतेसम्म मोदी, १७ गतेदेखि १९ गतेसम्म कुश्मा, २० गतेदेखि २३ गतेसम्म विहादी, २४ देखि २७ गतेसम्म र्पैंयू, २८ गतेदेखि फागुन १ गतेसम्म महाशिला, फागुन २ गते कुश्मामा बिचार गोष्ठी, फागुन ३ देखि ५ गतेसम्म जलजला, फागुन ६ देखि ९ गतेसम्म फलेवास र फागुन १३ गतेदेखि १५ सम्म फलेवास र अन्य छिटफुट गरी कार्यतालिका बनाईएको उहाँले बताउनुभयो ।






