आज चैते दशैं नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै - News site from Nepal
आज चैते दशैं नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौंः प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ।

वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पुष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन्।

असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले असोज शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ। बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।

चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ। चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ। चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहीआएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!