निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गर्ने पर्वतका दलहरुको प्रतिवद्धता  - News site from Nepal
पर्वत १२ माघ : आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा १३ वटा राजनीतिक दलवाट १३ जना चुनावी मैदानमा होमिएका छन् । निर्वाचन आयोगले निर्वाचन चिन्ह दलहरुलाई प्रदान गरेसँगै चुनावी अभियान लिएर गाउँ छिर्ने तयारीमा दलहरु जुटेका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता समेत लागु गरिसकेको अवस्थमा पर्वतमा सक्रिय राजनीतिक दलहरुले आचारसंहिताको पुर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन समन्वय समितिको बैठकमा सहभागि सवैजसो राजनीतिक दलका प्रमुख तथा उम्मेदवारहरुले निर्वाचनको सुरक्षालाई खलल नपुग्ने गरी आफ्‌ना गतिविधिहरु संचालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
राजनीतिक दलहरुले अबदेखि शुरु भएर मतदान सम्पन्न नभएसम्म सरकारी स्रोतको दुरुपयोग नगर्ने, निष्पक्ष र मर्यादित प्रचार प्रसारका गतिविधिहरु संचालन गर्ने, आर्थिक रुपमा तडकभडक नगर्ने र निर्वाचन आयोगले दिएको खर्च सीमा र पारदर्शिताको ख्याल गर्ने प्रतिवद्धता जनाएका छन् । यसैगरी मतदाता प्रभावित पार्ने कार्यका लागि आर्थिक चलखेल नगनेए, शान्ति सुरक्षा र कानूनको पालना गर्ने, सामाजिक सञ्जाल र सञ्चार माध्यमको मर्यादालाई पालना गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणी शर्माले चुनावलाई भव्य र सभ्य, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राज्यले सुरक्षाको पुर्ण प्रत्याभूति दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेस निर्वाचन आचारसंहिताको पालना गर्दै अघि बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमालेका सचिब सुवासचन्द्र पौडेलले आसन्न निर्वाचनमा सुरक्षाको विषयलाई लिएर केहि आशंकाहरु रहेको बताउँदै पार्टीका उम्मेदवार र नेताहरुलाई निर्वाध रुपमा निर्वाचनका गतिविधिहरु संचालन गर्ने वातावरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षाका थ्रेट जतिवेला पनि आउनसक्ने भन्दै पर्याप्त सुरक्षाकर्मी र जनशक्तिको व्यवस्थापन मिलाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता बिराज हमालले लोकतन्त्र संस्थागत गर्नका लागि निर्वाचन अपरिहार्य रहेको र यसलाई सम्पन्न गर्नु राजनीतिक दलहरुको प्रमुख दायित्व भएकाले सवै सरोकारवालहरु एकजुट भएर निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन आचारसहिता पालना गर्दै आफ्‌नो दलले घरदैलो, कोणसभा, आमसभा लगायतका गतिविधिहरु संचालन गर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गुरुदत्त सुवेदीले सामाजिक सञ्जाल प्रयोगदेखि निर्वाचनका विविध विषयमा कानून विज्ञसँग सल्लाहा लिएर गतिविधि संचालन गरिएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना गर्न सवै दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
राप्रपा पर्वतका सचिब हेमशर्मा पौडेलले ठुला दल र साना दललाई एकै खालको व्यवाहार गर्न मुख्य निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो । उहाँले साना दलहरु पनि आफ्‌नो अस्तित्व जोगाउनका लागि निर्वाचनमा होमिएको बताउँदै सवैलाई समान रुपमा गतिविधि संचालन गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।
नेकपा माओवादीका उम्मेदवार कृष्ण बिक, उज्यालो नेपाल पार्टीका उम्मेदवार यामबहादुर चोचाङ्गी पुन लगायतले पनि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव संचालन गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले सामाजिक सञ्जाल र सञ्चार माद्यामहरुमा ठुला दलहरुलाई मात्र बढावा दिईएको प्रति गुनासो समेत गर्नुभएको थियो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बासुदेव पौडेलले दलहरुलाई कुनैपनि समस्या परेमा मुख्य निर्वाचन अधिकृत वा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन पुर्ण रुपमा निष्पक्ष हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा कतिपय दलहरुले शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा परिचालन नगर्न आग्रह गरेका छन् । कर्मचारी भन्दा शिक्षकहरु प्रत्यक्ष रुपमा विभिन्न दलहरुसँग जोडिने भएकाले उनिहरुलाई सकभर नियुक्त नगर्न भनेका हुन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन शान्तिपुर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको हिसावले सवै तयारी गरिएको बताउनुभयो । उहाँले जिल्लाका अति संवेदनशिल मानिएका मतदान स्थलहरुको निरिक्षण र सुरक्षा प्रवन्ध प्रभावकारी बनाउनका लागि पनि जिल्लास्थित सवै सुरक्षा निकायहरुबीच आवश्यक समन्वय भैरहेको बताउँदै राजनीतिक दलहरुलाई सोहि अनुसार आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!