कुश्मा बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति  - News site from Nepal
कुश्मा बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति 
पर्वत ११ चैत : निर्माण सम्पन्न भएको डेढ वर्षपछि आंशिक रुपमा संचालन हुँदै आएको पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क नियमित संचालन गर्न सर्वपक्षिय सहमति भएको छ ।
गत कात्तिक १४ गतेदेखि आंशिक रुपमा संचालन हुँदै आएको भएप्नि विभिन्न यातायात कम्पनीहरुको अटेरीका कारण नियमित संचालन हुन सकेको थिएन । मंगलवार जिल्ला प्रशासन कार्यालय पर्वतमा यातायात व्यावसायी, कुश्मा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकार, सुरक्षा निकाय र अन्य सरोकारवालाबीचको बैठकले आजदेखि नियमित रुपमा बसपार्क संचालन गर्ने निर्णय गरेको छ ।
बसपार्क बाहिर रहेका सवै टिकट काउण्टरहरु बसपार्क भित्र व्यवस्थापन गर्ने, ट्याक्सी र अटोलाई बजारका विभिन्न स्थानमा व्यवस्थापन गर्ने, अन्य जिल्लावाट कुश्मा हुँदै, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ जाने र यस क्षेत्रवाट अन्यत्र जाने सवारीसाधन अनिवार्य रुपमा बसपार्क प्रवेश गर्नुपर्ने, सवारीसाधन सडकमा रोकि यात्रु झार्ने र चढाउने व्यवस्था  पुर्ण रुपमा बन्द गर्ने निर्णय बैठकले गरेको छ ।यो खबर आजको धौलागिरि सञ्चार साप्ताहिकवाट साभार गरिएको हो ।
यसैगरी पर्वतवाट अन्यत्रका लागि छुट्ने सवारी साधनलाई दश मिनेट र पर्वत बाहिरवाट छुट्ने सवारी साधनलाई पाँच मिनेट सडकमा बस्न पाउने, सवारी साधनले अनिवार्य रुपमा समितिको चलानी, बसपार्कको छाप र छुट्ने समय लिएर बसपार्कबाट राजमार्गमा निस्किन पाउने, जिल्लाभित्रका ग्रामीण सडकमा संचालन हुने सवारी साधन पनि बसपार्कमै पार्किङ्ग गर्नुपर्ने, पर्वतवाट छुट्ने सवारी साधनले आफ्‌नो सवारी छुट्ने समय जिल्ल ट्राफिक कार्यालयमा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।
बसपार्कमा रहेको टर्मिनल भवनमा अधिकांस काउण्टर सारिएको छ भने बाँकी काउण्टर सवै आज सर्ने निर्णय भएको संचालक दिपक पुनले जानकारी दिनुभयो । बसपार्क संचालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु. ११ लाख १९ हजार दुई सय ५२ रुपैयामा बोलपत्र आव्हान गरेको थियो । उक्त बोलपत्र युवा व्यावसायी दिपक फगामी पुनको नाममा स्वीकृत भएपछि संचालनको प्रकृया अघि बढेको थियो ।
अबदेखि नियमित रुपमा बसपार्कवाटै जिल्ला भित्र र बाहिर जाने सवारीसाधन छुट्ने बसपार्क संचालक दिपक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रुहरुलाई कुन ठाउँमा सवारीसाधनको प्रतिक्षा गर्ने भन्ने झण्झट हटेर जाने र यसले अव्यवस्थित रुपमा हुँदै आएको पार्किङ्ग र दुर्घटनाहरु समेत न्यूनिकरण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!