पर्वत १० चैत : पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक बृद्धको मृत्यु भएको छ ।
स्थानीय ७५ वर्षिय पुर्णबहादुर दर्जिको मंगलवार दिउँसो मृत्यु भएको हो । घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोहि रुख ढलेर च्यापिँदा गम्भिर घाईते भएका दर्जिलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याईएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
रुख ढलेर च्यापिएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र स्थानीय बाच्छा प्रहरी चौकीको टोली घटना स्थल पुगेको थियो । दिउँसो साढे चार बजे मात्रै प्रदेश अस्पतालमा ल्याईपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिनेश पौडेलले जानकारी दिनुभयो ।
बृद्ध दर्जीले आफै रुख काट्नुभएको थियो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।






