पर्वत, १० फागुन : पर्वतको फलेबास नगरपालिका वार्ड न ७ लिमिठानाका एक किसानको गाइगोठमा गएराती आगालागी हुँदा रु.५ लाख भन्दा बढीको क्षती भएको छ ।
लिमिठानाको साविक वडा नम्वर २ निवासी डिल्ली राज रेग्मी (नारायण) को गोठमा शनिवार राती आगलागी भएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । आगालागिबाट गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ । गोठमा रहेका एकवटा व्याउने भैँसी, एकवटा व्याउने गाई, एकवटा व्याउने बाख्रा र १ वटा वाच्छो मरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यस्तै गोठमा रहेको रु. एक लाख भन्दा बढीको पराल लगायत अन्य उपयोगी सामाग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको खवर प्राप्त भएपछी स्थानियको लामो प्रयासमा आगो नियन्त्रणमा आएपनि गाईभैसी, बाख्रा बचाउन नसकिएको स्थानीय रमाकान्त पौडेलले बताउनुभयो ।
आगलागीको घटना अबलोकन गर्नका लागि फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री लगायतको टोली घटनास्थल पुगेका थिए । उपप्रमुख क्षेत्रीले आगलागीबाट दर्दानक रुपमा पशुचौपाया मरेको प्रति दुखव्यक्त गर्दै किसानका घाउमा मल्हम लगाउन नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आँफूपनि किसान भएकोले किसानका दुखसुखमा सदैव साथमै रहने भन्दै उनले पीडितका लागि राहत उपलब्ध गराउन सम्वन्धित निकायको ध्यानाकर्षण संगै सक्दो पहल गर्ने बताइन् । उनले भनिन्, “रातदिन नभनी दुख गरेर गुजारा चलाउने किसानको गाइगोठ मात्र जलेको छैन,यतिबेला गोठ सँगै मन पनि जलेको छ,पीडित किसानलाई सवैले सक्दो सहयोग गरौँ, जस्ले जलेको मनलाई थोरै भएनि शितलता प्रदान गरोस्”






