पर्वतमा चुनाव आचारसंहिता उल्लंघन र फेक गतिविधि बढेको भन्दै युवा सञ्जालको ध्यानाकर्षण - News site from Nepal

पर्वत – पर्वतमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ।

सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने किसिमका गतिविधि बढ्दै गएको उल्लेख गरेको हो। विज्ञप्तिमा विशेषगरी सामाजिक सञ्जालमा नक्कली खाता सञ्चालन गरी उम्मेदवार र दलविरुद्ध दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने तथा मतदातालाई प्रभावित पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ।

सञ्जालका अनुसार केही नक्कली खाता हालै सिर्जना गरिएका र ती खाताबाट अपमानजनक तथा उत्तेजक सामग्री पोस्ट गर्ने क्रम बढेको छ। यस्ता गतिविधिले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा असर पार्ने भन्दै सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कडाइका साथ कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।

विज्ञप्तिमा पैसाको प्रलोभन, भोजभतेर, जातीय तथा धार्मिक भावनालाई उक्साएर मत प्रभावित गर्ने कार्य गम्भीर विकृति भएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ। साथै, निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा मतदातालाई जिम्मेवार आचरण प्रदर्शन गर्न सञ्जालले अपिल गरेको छ।

पर्वत युवा सञ्जालका संयोजक समुद्र गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गलत र भ्रामक सूचना प्रवाहले लोकतान्त्रिक प्रणाली, सामाजिक सद्भाव र सुशासनमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ। सञ्जालले जिल्लामा देखिएका यस्ता प्रवृत्तिको अनुगमन जारी राख्ने र आवश्यक परे थप कदम चाल्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!