पर्वत ७ चैत : पर्वतको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने लक्ष्य सहित “डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना” सुरु गरेको छ ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याइएको यस परियोजनामा कृषक, कृषि फर्म तथा समूहलाई आकर्षक अनुदानसहित विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिने भएका छन् ।
गाउँपालिकाका अनुसार पालिकाका आठवटै वडामा सुन्तला, कफी तथा अलैंचीको उत्पादन विस्तारका लागि बिरुवा, रोपाइँ तथा मलखाद व्यवस्थापनमा अधिकतम ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने भएको छ भने उत्पादनको मूल्य अभिवृद्धिका लागि प्रशोधन केन्द्र स्थापना गर्न पनि ७५ प्रतिशतसम्म अनुदान दिइने भएको छ ।
त्यसैगरी लिफ्ट, साना तथा थोपा सिँचाइजस्ता प्रविधि विस्तार गरी सिँचाइ प्रणाली निर्माण र सुधार गर्न अधिकतम ९० प्रतिशतसम्म अनुदान उपलब्ध हुने व्यवस्था गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो । आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न कृषि औजार खरिदमा ७५ प्रतिशतसम्म कृषकले अनुदान पाउने भएका छन् । सुन्तला, कफी र अलैंचीका नर्सरी तथा डेमोन्स्ट्रेशन प्लट स्थापना गर्न पनि सोही अनुपातमा अनुदान दिइने पुरीले बताउनुभयो ।
यसैगरी अदुवा र बेसारजस्ता रैथाने तथा नगदे बालीको क्षेत्र विस्तारका लागि बीउ, रोपाइँ र मलखाद व्यवस्थापनमा ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने भएको छ । उच्च मूल्यका बाली उत्पादनलाई प्रोत्साहन गर्न प्लास्टिक टनेल निर्माणमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले केही कार्यक्रम अन्तर्गत अनुदान प्राप्त गर्नका लागि खेती क्षेत्र विस्तार गरिएको हुनुपर्ने शर्तसमेत राखेको छ । परियोजनामा सहभागी हुन इच्छुक कृषक, समूह तथा कृषि फर्मले दर्ता तथा नवीकरण प्रमाणपत्र, पान दर्ता, कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, वडा कार्यालयको सिफारिस तथा जग्गाधनी प्रमाणपत्र वा दीर्घकालीन भाडा सम्झौता सहितको प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
डिजिटल प्रविधि र आधुनिक कृषि अभ्यासमार्फत उत्पादन वृद्धि, लागत न्यूनीकरण र बजार पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यस परियोजनाले स्थानीय कृषकको आयआर्जनमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो ।
कृषकलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउनका लागि यो परियोजना फलदायी हुने भएकोले मौकाको फाईदा लिन पनि आव्हान गरिएको शर्माले बताउनुभयो ।






