पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने - News site from Nepal
पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने

पर्वत –  चैते दशैंको अवसरमा पर्वतको कुश्मामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा प्रतियोगिता चैत १२ गतेदेखि ३ दिनसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय वरीयताको शीर्ष २० मा नरहेका खेलाडीले खुला राष्ट्रिय पुरुष डबल्समा प्रतिस्पर्धा गर्नेछन्।

योसँगै अन्य ४ विधामा पनि खेल आयोजना गरिनेछ। जसमा गण्डकी प्रदेश स्तरीय ‘बी’ लेभल पुरुष डबल्स, ४५ वर्षमाथिको भेट्रान्स पुरुष डबल्स, गण्डकी प्रदेश स्तरीय मिक्स डबल्स तथा धवलागिरी स्तरीय ‘सी’ लेभल पुरुष डबल्स प्रतियोगिता समावेश रहेको प्रचारप्रसार संयोजक सुनिल थापाले जानकारी दिए।

खुला राष्ट्रिय पुरुष डबल्स प्रतियोगिताको विजेता जोडीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विजेता जोडीले कुश्मास्थित हार्नेस जिपलाइन एण्ड एडभेन्चर्स रिसोर्टमा क्लासिक जिपलाइन खेल्ने अवसर प्राप्त गर्नेछ। दोस्रो जोडीले ३० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, गण्डकी प्रदेश स्तरीय ‘बी’ लेभल पुरुष डबल्सतर्फ विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

४५ वर्षमाथिको भेट्रान्स पुरुष डबल्सतर्फ विजेता जोडीलाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

खुला राष्ट्रिय मिक्स डबल्सतर्फ प्रथम पुरस्कार २० हजार, द्वितीय १२ हजार र तृतीय ८ हजार रुपैयाँ रहेको छ।

धवलागिरी स्तरीय ‘सी’ लेभल पुरुष डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

खेलाडीको सुविधाका लागि बिहानको खाना कभर्डहलमै व्यवस्था गरिने खेलकुद व्यवस्थापन उपसमितिका संयोजक प्रदीप तिमिल्सिनाले बताए। प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता चैत ११ गतेसम्म गर्न सकिने जनाइएको छ।

प्रतियोगिताबाट बचत भएको रकम जिल्ला खेलकुद विकास समिति पर्वतको भवन निर्माणमा सहयोगका लागि प्रयोग गरिने आर्थिक व्यवस्थापन उपसमितिका संयोजक रामप्रसाद पुनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!