पर्वत ४ चैत : पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख दुई गतेदेखि असार सात गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको छ । कार्यालय मार्फत चैत महिनाभर गणनाको आवश्यक तयारी गरिने छ । पर्वत जिल्लामा आर्थिक गणनाका लागि १७ जना गणक र ३ जना सुपरीवेक्षक खटाईने भएएको छ । भने कार्यालयमा व्यवस्थापनका लागि पाँच जना कर्मचारी रहने आर्थिक गणना अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबिच छलफल सकेर गणना सुरु गरिने आर्थिक गणना अधिकारी पौडेलले बताए । जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ । पालिका तहमा स्थानीय तह समन्वय समिति र वडा स्तरमा वडास्तरीय सहजिकरण समिति पनि गठन गरिने उनले बताए ।
‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मुल नारासहित चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । वि.सं. २०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।
यस गणनाका दौरानमा पर्वत जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण संकलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापारीक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटल लगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने गणना अधिकारी पौडेलले बताए ।
तस्विर पनि छ ।






