कुश्मामा समुदायमा कानुनी सचेतना कार्यक्रम सम्पन्न - News site from Nepal
कुश्मामा समुदायमा कानुनी सचेतना कार्यक्रम सम्पन्न

पर्वत- जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपालिकाको समन्वयमा समुदायमा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम कुश्मा नगरपालिका वडा नं. ५ स्थित युनिर्भसल पाटी प्यालेसमा आयोजना गरिएको थियो।

कुश्मा नगरपालिका वडा नं. ४, ५, ६, ७ र ८ का समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलको अध्यक्षता तथा मेसु ढुण्डीराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रहरी निरीक्षक दिनेश पौडेलले देवानी तथा फौजदारी मुद्दा, अपराधिक तत्व, पीडित तथा पीडकको परिभाषा लगायत बालविवाह, यौन दुरुपयोग, साइबर अपराध (अनलाइन ठगी) तथा मानव बेचबिखन सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत प्रस्तुति दिएका थिए।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कुश्मा, पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले सडक सुरक्षा, सवारी चालकले पालना गर्नुपर्ने नियम तथा दुर्घटना न्यूनीकरणका उपायहरूबारे प्रशिक्षण दिएका थिए।

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रतिनिधि राधिका वरालले मानविय सभ्यता र संस्कारसम्बन्धी सन्देशमूलक शुभकामना व्यक्त गरेकी थिइन्।

कार्यक्रममा प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले लैङ्गिक हिंसा तथा त्यस सम्बन्धी कानुनी उजुरी प्रक्रियाबारे जानकारी दिँदै सहजीकरण गरेकी थिइन्।

कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधा कानुनी प्रक्रिया अनुसार सहज रूपमा उपलब्ध गराउन आवश्यक सुझावसहित सहभागीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!