फलेवासको विकासको मार्गचित्र सम्भावना र चुनौती : उम्मेदवार तिमिल्सिनाद्धारा विज्ञ र सरोकारावालासँग छलफल - News site from Nepal

पर्वत- प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा फलेवासबासीहरूको माग र अपेक्षालाई सुनुवाइ गरेका हुन् ।

फलेवास नगरपालिकास्थित मोती पुस्तकालयको भवनमा फलेबास विकास सरोकार मञ्चद्धारा बुधबार विचार गोष्ठीको आयोजना गरिएको हो । फलेवास विकासको मार्गचित्रः चुनौती र सम्भावना विषयक शिर्षक दिइएको गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ, विकासविद् तथा अनुसन्धाता डा.निमानन्द रिजाल, प्राध्यापक रोमा मानन्धर लगायतले फलेवाससहित सिंगो पर्वतको विकास, सुशासन र समृद्धिको विषयमा आ- आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्लाका बुद्धिजीवी, सामाजिक व्यक्तित्वहरु, विभिन्न विचारले आवद्ध राजनीतिकर्मी, लेखक, पत्रकार, नेपाल सरकारका सेवा निवृत्त उच्च अधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, जेन्जी युवा पुस्ताका प्रतिनिधिहरु, शिक्षासेवी व्यक्तित्वहरु लगायत स्थानीयबासीको सक्रिय सहभागीताले गोष्ठिको अपरिहार्यतालाई पुष्टि गरेको छ ।

गोष्ठिमा नेपाली कम्युनिष्ट पार्टी पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मनहरि तिमिल्सनाले आफ्नो २३ बुँदे चुनावी प्रतिवद्धतालाई प्रस्तुत गरेका थिए । उम्मेदवार तिमिल्सिनाले २३ बुँदे प्रतिवद्धतामध्ये २१ बुँदा पर्वतको विकाससँग सम्वन्धित रहेको बताए । प्रत्येक बुँदाका लागि आफूसँग प्रोजेक्ट प्लान रहेको दाबी गर्दै उम्मेदवार तिमिल्सिनाले आधुनिक कृषि र पर्यटन, पकेट क्षेत्र विकास, गुणस्तरीय शिक्षा व्यवस्था, डिजिटल पर्वत निर्माण, आइसिटी हब, पर्वत विकास सम्मेलन लगायतका विषयमा आफ्नो अवधारणा राखेका थिए । उम्मेदवार तिमिल्सिनाले जनताले १७ जना उम्मेदवारलाई एकै मञ्चमा राखेर सवैको विकासप्रतिको धारणा र विचार सुन्न पाउनुपर्छ भन्नेमा समेत जोड दिए । पर्वत विकास सम्मेलन भन्ने बुँदा जनप्रतिनिधहरुमा आफूले नै पहिलो पटक उठान गरेको उम्मेदवार तिमिल्सिनाको दाबी छ । नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शनशास्त्र विभागको सदस्य समेत रहेका तिमिल्सिना माक्र्सवादी ज्ञान केन्द्रको केन्द्रिय अध्यक्ष समेत हुन् ।

गोष्ठिमा पर्वत बहुमूखी क्याम्पसका प्रमुख लालप्रसाद शर्माले युवालाई नेपालमै बस्ने र केही गर्न सक्ने खालको शिक्षा नीति आवश्यक रहेको बताए । गाउँमा विद्यार्थी संख्या घट्दै जाँदा फलेवासका तीन वटा क्याम्पस मर्ज गरी एकै बनाई अगाडि बढाउनु पर्ने र नगरपालिकाले क्याम्पसलाई दिदै आएको अनुदान रोक्न नहुनेमा जोड दिएका थिए । कार्यक्रममा डहरेलेक, काजीको पौवा, मोरेघाट लगायतलाई समेटेर पर्यटन प्रवद्र्धन गर्न सकिने, लमागे खोलालाई बाँध बाँधेर सिंचाई सुविधा पुराउन सकेमा बाँझो जग्गामा खेती गर्न सकिने, पूर्वाधार विकासमा भन्दा पनि गुणस्तर कायम गर्न जोड दिनपर्ने, बाँदर नियन्त्रका लागि बाँदरले कम क्षति पुराउने बाली लगाउने लगायतका अन्य उपायबारे सहभागीहरुले सुझाएका थिए ।

जेन्जी पुस्ताले उद्यमशीलतामा जोड दिई रोजगारीको सृजना गर्नुपर्ने, कृषि अनुदान दिदा उत्पादनको आधारमा दिइनुपर्ने, कृषि उत्पादनका लागि बजारको ग्यारेन्टी हुनुपर्ने, कालीगण्डकी सभ्यताको बचाउ गर्ने लगायतका कुराहरु कार्यक्रममा राखेका थिए । पर्वत युवा संजालका सचिव तथा सामाजिक अभियान्ता मदन पौडेलले गाउँ र शहरबजारको असमानतालाई कसरी कम गर्न र सामाजिक न्याय दिलाउन सक्नुहुन्छ भनी प्रश्न राखेका थिए ।

सहभागीहरुको प्रश्नको जवाफमा योजनाविद् तथा अनुसन्धाताहरुले मुलुकको समग्र आर्थिक सम्वृद्धि र समन्यायिक विकासका लागि सहि योजना, नीति र कानूनको खाँचो पर्ने र त्यसका लागि स्पष्ट भिजन र दुरदृष्टि राख्ने व्यक्ति संसदमा जानुपर्नेमा जोड दिएका थिए ।
सांसदले पूर्वाधार निर्माणका लागि नभई योजना, नीति र कानून बनाउने काम गर्ने हो । उदाहरणका लागि मुलुकको शिक्षा सुधारका लागि शिक्षामा आमूल परिवर्तनको खाँचो छ । परिवर्तनका लागि संसद नै बाधक बन्छ र शिक्षा ऐन संसदमा नै रोकिएको छ । संसदमा विषय विज्ञलाई जिल्लाबाट चुनेर पठाउन सकेमा मात्रै सहि नीतिनियम र कानून निर्माण भई मुलुकले समग्र गति लिन सक्ने धारणा विज्ञहरुको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!