पर्वतका दुई उम्मेदवारले गरे निर्वाचन खर्च सार्वजनिक, कसको कति ? - News site from Nepal
पर्वतका दुई उम्मेदवारले गरे निर्वाचन खर्च सार्वजनिक, कसको कति ?
पर्वत २९ फागुन : पर्वतबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेसका उम्ेमदवार अर्जुनप्रसाद जोशी र एमाले उम्मेदवार पदम गिरीले जिल्ला निर्वाचन कार्यालयलाई खर्चबिबरण बुझाएका हुन् ।
काँग्रेस उम्मेदवार जोशीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भएको कुल २७ लाख ३३ हजार रुपैयाँ खर्चको विवरण बिहीबार जिल्ला निर्वाचन कार्यालय पर्वतमा बुझाएउनुभएको छ । जोशीले बुझाएको खर्च विवरण अनुसार सबैभन्दा बढी रकम चुनाव प्रचारप्रसार तथा मतदाता शिक्षामा खर्च भएको छ । उक्त शीर्षकमा मात्रै १२ लाख ५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ ।
त्यसैगरी मनोनयन दर्तामा १० हजार, यातायात तथा इन्धनमा १० लाख, खाजाखानामा १ लाख ५ हजार, मसलन्द तथा स्टेशनरीमा १ लाख, सम्पर्क कार्यालय स्थापनामा १ लाख ७५ हजार, झण्डा छपाइमा ७८ हजार तथा विविध शीर्षकमा १५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी एमाले उम्मेदवार गिरीले २७ लाख १५ हजार बराबर निर्वाचन खर्च गर्नुभएको छ । उम्मेदवारी दर्ता रु. १० हजार, मतदाता नामावली खरिद रु. तीन हजार, मतदाता नामाबली छपाई रु. ७५ हजार पाँच सय, सवारी साधन भाडा खर्च रु. ६ लाख ३० हजार, पार्टीका झण्डा, ब्यानर निर्माणमा रु. एक लाख ५० हजार, प्रचार प्रसार सामाग्री निर्माणमा रु. तीन लाख ७२ हजार, कार्यकर्ता बुथ खर्च रु. पाँच लाख १० हजार रुपैया खर्च विवरणमा उल्लेख गर्नुभएको छ । यसैगरी प्रचार अभियानमा खाना छाजा रु. दुई लाख २५ हजार, विविध खर्च ३९ हजार पाँच सय रुपैया खर्च भएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूले निर्वाचनको क्रममा अधिकतम रु.३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
हालसम्म जोशी र गिरीले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् भने अन्य उम्मेदवारहरूले अझै विवरण बुझाएका छैनन् । कानुनी प्रावधान अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!