चाडपर्व नजिकिएसँगै पर्वतको फलेवासमा सवारी जाँच अभियान तीव्र, ट्राफिक प्रहरिले सक्रियता बढायो - News site from Nepal

रामचन्द्र भुसाल, फलेवास।
चडपर्व नजिकिँदै गर्दा पर्वतको फलेवासमा सवारी चेकजाँच अभियानलाई तीव्रता दिन थालिएको छ । हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने क्रम बढ्न सक्ने भन्दै पर्वतको फलेवासमा सवारी जाँच अभियानलाई तीव्रता दिन थालिएको हो ।
फलेवास नगरपालिका वडा नम्बर ६ अन्र्तगत पर्ने प्रहरी चौकी देविस्थानको निगरानीमा सवारी साधन जाँच गर्न थालिएको बताईएको छ । प्रहरी चौकी देविस्थानका इन्चार्ज प्रहरी सहायक निरीक्षक उत्तम अर्मजा मगरको कमान्डमा सञ्चालन भइरहेको जाँचका क्रममा ट्राफिक प्रहरी खड्कराज बि.क. सहितको टोलीले सवारी साधनको अवस्था, आवश्यक कागजपत्र तथा क्षमताअनुसार सामान र यात्रु बोकिएको छ कि छैन भन्ने विषयमा निगरानी गरिरहेको छ । चाडपर्वका समयमा मानिसको आवतजावत र सवारी साधनको चाप बढ्ने भएकाले क्षमताभन्दा बढी यात्रु तथा सामान राख्ने, आवश्यक कागजपत्रबिना सवारीसाधन चलाउने लगायतका गतिविधि बढ्न सक्ने र त्यसले सवारी दुर्घटनाको जोखिम बढाउने भएकाले नियमित तथा विशेष सवारी जाँचलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ ।
सवारी दुर्घटना न्यूनीकरणसँगै यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारीको क्षमताअनुसार मात्र यात्रु तथा सामान बोक्न र आवश्यक कागजपत्र साथमा राख्न प्रहरीले आग्रह गरेको छ ।
चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन चालक, यात्रु तथा सवारीधनी सबैले जिम्मेवार भएर ट्राफिक नियम पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!