पर्वत– एमाले पर्वतका संस्थापक नेता स्वर्गिय गणेश शर्मा पौडेलको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।
स्मृति दिवसको अवसरमा कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी स्थित उहाँकै निजि निवासमा आयोजित एक समारोहमा दिवंगत नेता शर्माको राजनीतिक, सामाजिक, शैक्षिक र जिल्लाको विकास निर्माणमा पुर्याएको योगदानको गहन रुपमा चर्चा परिचर्चा गरिएको छ ।
शर्माले जिल्लाको शैक्षिक उन्नयनमा ठुलो योगदान पुर्याउनुभएको थियो भने युवाहरुलाई राजनीतितर्फ आकर्षित गर्नुका साथै जातिय विभेद अन्त्यका लागि समेत स्मरणीय कामहरु गर्नुभएको एमाले युवा नेता पदमपाणी शर्माले जानकारी दिनुभयो ।

स्मृति सभाको अवसरमा पैंयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले स्थानीय पुर्णेश्वर उच्च माविलाई रु. ५० हजार एक सय ५ रुपैया आर्थिक सहयोग समेत गर्नुभएको छ । उक्त विद्यालयका संस्थापक, पुर्व प्रद्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहनुभएका पौडेलको स्मृति सभाकै अवसरमा आफुले विद्यालयको स्वर्ण महोत्सवमा प्रतिवद्धता गरे अनुरुपको रकम हस्तान्तरण गरेको रानाले बताउनुभयो ।
कार्यक्रममा एमालेका नेताहरु मेघनाथ सुवेदी, गोबिन्द पहाडी, पदमपाणी शर्मा, खुमप्रसाद सुवेदी, सुवासचन्द्र पौडेल, किशोर सापकोटा, महेन्द्र श्रेष्ठ लगायत जनप्रतिनिधि, शैक्षिक एवम् सामाजिक व्यक्तित्वहरुको बाक्लो सहभागिता रहेको थियो ।






