फलेवास नगरपालिकाको सेवा आजदेखि आफ्‌नै सुविधासम्पन्न भवनवाट - News site from Nepal
फलेवास नगरपालिकाको सेवा आजदेखि आफ्‌नै सुविधासम्पन्न भवनवाट
पर्वत, २९ वैशाख :  संघीयता कार्यान्वयनमा आएको एक दशक पछि पर्वतको फलेवास नगरपालिकाको आफ्‌नै सुविधासम्पन्न भवन सम्पन्न भएको छ ।
जिल्लाको सातवटा स्थानीय तहमध्ये छैटौ पटक फलेवास नगरपालिकाले आफ्‌नै भवन निर्माण गरी कार्यलय संचालनमा ल्याएको हो । यस अघि मोदी गाउँपालिका, विहादी गाउँपालिका, पैंयूँ गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकाले आफ्‌नै भवनमा कार्यालय संचालन गर्दै आएका छन् ।
अब सदरुमकाम रहेको कुश्मा नगरपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नबनिर्मित फलेवास नगरपालिकाको भवनको सोमवार नगरप्रमुख गंगाधर तिवारीले उद्घाटन गर्नुभएको छ । कालीगण्डकी प्रदीप जुम्लि जेभीले वि.सं. २०७८/५/२१ मा सम्झौता भई निर्माण कार्य शुरु भएको थियो ।
रु.९ करोड एक लाख ५३ हजार दुई सय रुपैयामा निर्माण सम्पन्न भएको भवनमा तीन तला र ४२ वटा कोठा रहेका छन् । जसमा तीनवटा सभाहल सहित, खानेपानी, विद्युत, शौचालय समेत सुविधासम्पन्न बनाईएको छ । यसैगरी नगरपालिकाका सबै विषयगत शाखाहरु एउटै भवनवाट एकीकृत रुपमा संचालन गर्न थालिएको छ ।  नेपाल सरकारको ५० प्रतिशत र नगरपालिकाको आफ्‌नो ५० प्रतिशतल लगानीमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।
व्यवस्थित रुपमा नगरापालिकाको सेवा प्रवाह गर्ने, सुरक्षित र सुविधायुक्त बातावरणमा नागरिकलाई सेवा प्रवाह गर्ने उद्धेश्यले स्गानीय बासिन्दाले झण्डै ६२ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका थिए । भवन उद्घाटन गर्दै नगर प्रमुख गंगाधर तिवारीले अव नागरिकले नगरपालिकाबाट लिने सेवा सुविधा सहज र सरल तरिकाले पाउने बताउनुभएको छ । नगरप्रमुख तिवारीले पालिकाको सुविधा सम्पन्न भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा असहज भएको बताउदैँ अव भने सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह हुदाँ विगतमा भोगेका समस्याहरु हटेर जाने बताउनुभयो । जनमैत्री मात्र नभई छिटोछरितो सेवा प्रवाह समेत हु्‌ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थापक मेयर पदमपाणी शर्माले  भवन निर्माणको चरणमा धेरै सघर्ष गर्नुपरेको समेत बताउनुभयो । शर्माले जनताले पाउने सेवा र सुविधाका निमित्त आफु पदमा रहदा वा नरहदाँ हर समय लागिपरेको समेत जानाकारी दिनुभयो । आफु नगरको प्रमुख हुदाँ नगरका गरिव असहाय नागरिक कोहि बिरामी पर्दा उनिहरुलाई कल्याणकारी कोष पेन्सनको ब्यवस्था गरेको स्मरण गर्दै जनप्रतिनिधिको सवैभन्दा पहिलो कार्य नागरिकको सेवा हुनुपर्नेमा जोड दिनुभयो ।  उहाँले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि  र मानविय विकासमा दिर्घकालीन असर पुग्ने खालका कार्यक्रम फलेवासले संचालन गरेको उहाँको भनाई छ ।
शुरुमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि विभिन्न कारणले काममा ढिलाई हुँदा भवन निर्माण पाँच वर्षपछि सम्पन्न भएको हो ।
कार्यक्रममा  नगर उपप्रमुख शोभा क्षेत्री, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, वडा अध्यक्षहरु, राजनीतिक दलका नेताहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!