पर्वतका उम्मेदवारलाई बैंक खाता खोल्न निर्वाचन कार्यालयको ताकेता   - News site from Nepal
पर्वत- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय पर्वतले ताकेता गरेको छ ।
निर्वाचनको मिति आउन तीन सातामात्र बाँकी रहँदा पनि जिल्लाका कुनैपनि उम्मेदवारले चुनावी प्रयोजनका लागि छुट्टै बंैंक खाता नखोलेको भन्दै निर्वाचन कार्यालयले पत्र लेखेर ताकेता गरेको हो । पर्वतमा १३ वटा राजनीतिक दलका १३ वटा उम्मेदवार र चार जना स्वतन्त्र उम्मेदवार गरी १७ जना चुनावी मैदानमा रहेका छन् । उनिहरु मध्ये बुधवारसम्म कुनैपनि उम्मेदवारले खाता नखोलेका जिल्ला निर्वाचन अधिकारी बुद्धिराम शर्माले जानकारी दिए ।
निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन सम्वन्धि खर्च गर्दा बैंक वा वित्तिय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्धारा सो खातावाट खर्च गर्नुपर्ने उल्लेख गरिएको भएपनि पर्वतमा अहिलेसम्म कुनैपनि उम्ेमदवारले छुट्टै खाता खोलेको बिवरण नबुझाएको शर्माले बताए । उम्मेदवारहरुले रु. २५ हजार भन्दा बढि आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्ति संस्थामार्फत गर्नुपर्ने उल्लेख गरिएको छ ।
व्यक्ति वा संस्थावाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा बुझेको रसिद वा भरपाई दिई बैंकमै जम्मा गर्नुपर्ने र खर्चको विवरण तथा बिल भरपाई राख्नुका साथै आम्दानी र खर्चको विवरण कानून बमोजिम निर्वाचन सकिएको ३५ दिन भित्र जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले पनि उम्मेदवाररुलाई तत्काल खाता खोल्न पत्राचार गरिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा प्रमुख कोष तथा लेखा नियन्त्रक ज्ञानप्रसाद अर्यालले बताए ।
उम्मेदवारले खाता खोल्नु अघि जिल्ला निर्वाचन कार्यालयको सिफारीस माग्नुपर्ने उनले बताए । चुनावी प्रयोजनका लागि खोलिएको खाता निर्वाचन सकिएपछि बन्द गर्नुपर्ने बताईएको छ । खाता खोल्नका लागि उम्मेदवारी दिएको निस्सा वा परिचयपत्र, सम्वन्धित उम्मेदवारको नागरिकता, सम्वन्धित बैंक तथा वित्तिय संस्थाको दस्तखत नमुना कार्ड र सम्वन्धित उम्मेदवारको पत्र बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले पर्वत जिल्लाका उम्मेदवारहरुलाई अधिकतम खर्चको सिमा रु. ३१ लाख रुपैया तोकेको छ । सोहि खर्च सिमाभित्र रहेर आर्थिक कारोबार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।
बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वदलिय, सर्वपक्षिय बैठकले एक/दुई दिन भित्रमा उम्मेदवारहरुलाई बैंक खाता खोल्न, निर्वाचन आचारसंहिताको पुर्ण पालना गर्न अनुरोध गरेको छ । अहिलेसम्म जिल्लामा शान्तिपुर्ण रुपमा निर्वानका गतिविधिहरु भैरहेको र यसलाई कायम राख्न प्रमुख निर्वाचन अधिकृत बासुदेव पौडेलले आग्रह गरे ।
बैठकमा निर्वाचनको सुरक्षा तयारी, कर्मचारी व्यवस्थापन लगायतका बारेमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी गराउनुभएको थियो । वैठकमा स्थानीय तहका जनप्रतिनिधिरुलाई राजनीतिक दलको प्रचार प्रसार र चुनावी गतिविधिमा संलग्न हुन तथा सरकारी सम्पत्तिको दुरुपयोग नगर्न सचेत गराउने निर्णय समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!