पर्वतको शंकरपोखरीमा माघ १ गते बृहत् स्वास्थ्य शिविर संचालन गरिँदै  - News site from Nepal
पर्वत– शहीद हरिदत्त तिवारीको २३ औँ स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शहीद हरिदत्त तिवारी प्रतिष्ठान, नेपालद्वारा स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।
आयोजकले शनिवार पत्रकार सम्मेलन गर्दै शिविरको तयारीवारे जानकारी दिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कुश्मा, पर्वतको सहयोगमा रक्तदान समेत गरिने भएको छ ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क परामर्श सेवा तथा उपचार गरिने भएको छ । शिविरअन्तर्गत मुटुरोग परामर्श, छाती, पेट तथा पाचन सम्बन्धी समस्या परामर्श, महिला तथा मातृ स्वास्थ्य परामर्श, हाडजोर्नी तथा मांसपेशी दुखाइ परामर्श, नाक–कान–घाँटी सम्बन्धी परामर्श, बाल स्वास्थ्य तथा मनोरोग परामर्श र उपचार सेवा उपलब्ध रहनेछ।
यसैगरी रक्तचाप र मधुमेह (सुगर) जाँच, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउण्ड जाँच, फिजियोथेरापी तथा आवश्यक औषधि वितरणको व्यवस्था गरिएको छ ।
शिविरमा मुटुरोग, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, बालरोग, मानसिक रोग, रेडियोलोजी, फिजियोथेरापी लगायत विभिन्न विधाका अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रम माघ १ गते, बिहीबार, बिहान ८ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म सञ्चालन हुनेछ । शिविरको स्थान त्रिभुवन उच्च मा.वि., फलेवास–३, शंकरपोखरी, पर्वत रहेको छ ।
 शहिद हरिदत्त स्मृति प्रतिष्ठानका नेपालका प्रमुख संरक्षक तथा फलेवासका नगरप्रमुख गंगाधर तिवारीले शिविरमा सहभागि भएर सवै रोगहरुका परिक्षण गराउन अनुरोध गर्नुभएको छ । आर्थिक रुपमा बिपन्न, असहायहरुका लागि शिविर लक्षित गरिएको उहाँको भनाई छ । शिविरमा औँषधी समेत निशुल्क वितरण गरिने भएको छ ।
बरिष्ठ मुटुरोग बिषेशज्ञ श्यामराज रेग्मी, डा. अनिल भट्टराई लगायत २५ जना भन्दा बढि विशेषज्ञ डाक्टरहरुको सहभागितामा उपचार सेवा प्रदान गरिने संरक्षक तिवारीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका संयोजक अर्जुनबहादुर कार्की, प्रचार प्रसार संयोजक गिरीजाप्रसाद तिवारीले शिविरको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।
शनिवार नै शहीदपुत्र गंगाधर तिवारी ६४ वर्ष पूरा गरी ६५ वर्ष उमेरमा प्रवेश गर्नुभएको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!