महाशिला गाउँपालिकाको स्थापना दिवस : उत्कृष्ट कर्मचारी र कृषक सम्मानित - News site from Nepal

पर्वत- पर्वतको महाशिला गाउँपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। विं.स. २०७४ साल असार २५ गते सम्पन्न पहिलो गाउँसभाको अवसर परेर मंगलबार पालिकाको स्थापना दिवस मनाईएको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाको विकास यात्रा, उपलब्धि तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका संस्थापक अध्यक्ष राजुप्रसाद पौडेलले स्थानीय तह स्थापनापछिको अवधिमा महाशिलाले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाको स्थापना र विकास यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले महाशिलालाई कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासको केन्द्रका रूपमा स्थापित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाह र समृद्ध गाउँपालिकाको निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । विं.स २०७४ असार २५ गते महाशिला गाउँलिकाको ऐतिहासिक प्रथम गाउँसभा सम्पन्न भएको थियोे । सोही दिनलाई स्मरण गर्दै असार २५ गतेलाई गाउँपालिकाको स्थापना दिवस मनाउनको लागि गाउँपालिकाको २० औं गाउँसभाबाट निर्णय भए बमोजिम स्थापना दिवस मनाइएको भुसालले बताउनुभयो ।गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिकले समावेशी विकास, सामाजिक न्याय र नागरिक सहभागितालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले महिला, दलित, ज्येष्ठ नागरिक तथा पछाडि पारिएका समुदायको सशक्तीकरणमार्फत समतामूलक समाज निर्माणमा गाउँपालिका केन्द्रित रहेको धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा उत्तरदायी कार्यशैलीले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पारदर्शी, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाहलाई निरन्तरता दिइरहने बताउनुभयो । कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ का पुर्व वडा अध्यक्ष जीवन उचै ठकुरी, वडा नं. ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल,रास्वपा महाशिला सभापति घैलेन्द्र केसी, नेकपा एमाले महाशिलाका अध्यक्ष एक बहादुर हमाल, नेपाली काँग्रेस महाशिलाका सचीव द्रोणराज पौडेल, पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय,मदन आश्रति माबिका प्रधानाध्यापक खड्का बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने पालिका तथा वडा कार्यालयका कर्मचारीहरु तथा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने कृषकहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!