जलजलाको विशेषज्ञ स्वास्थ्य शिविरमा साढे सात सयको उपचार  - News site from Nepal
जलजलाको विशेषज्ञ स्वास्थ्य शिविरमा साढे सात सयको उपचार 
पर्वत २७ वैशाख  :  पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा शनिबार सम्पन्न निशूल्क बृहत स्वास्थ्य शिविरबाट करिब सात सय ५० जना लाभान्वित भएका छन् ।
जलजला गाउँपालिकाले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल मृगौला तथा प्रत्यारोपण विभाग, मनमोहन ‘कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टर’ र मुटु जोगाऔ काठमाडौको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा सात सय ४४ जनाले सेवा लिएका हुन् ।
मुटु जोगाऔ संस्थाका महासचिव सेरबहादुर रानाले शिविरमा पहिचान भएका १७ जना मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौमा थप उपचारको ब्यवस्था मिलाइएको बताउनुभयो । “मृगौला रोग सम्बन्धी ६५ जना, चार सय ६७ जनाको इसिजी र दुई सय ६३ जनाको इको गरिएको छ,” उहाँले भन्नुभयो “रु. सात लाख ५० हजार मूल्य बराबरको औषधी निशूल्क वितरण गरेका छौ ।”
काठमाडौ र पोखरामा रहेका अस्पतालका बिशेषज्ञ चिकित्सकहरुबाट गाउँमै सेवा पाउँदा समय र खर्चको बचत भएको बेनी नगरपालिका–९ का त्रिबिक्रम सुवेदीले बताउनुभयो । जलजला गाउँपालिका–७ की देवि परियारले शिविर मार्फत मुटुमा प्वाल परेका दुई जना छोरीको उपचार छिटो हुने वातावरण बनेको बताउनुभयो ।
मुटु र मृगौला सम्बन्धी समस्या भएका बिरामीको पहिचान तथा उपचार गराइरहेका बिरामीहरुको सहजताका लागि शिविर आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
शिविरमा मुटु तथा मृगौलारोग सम्बन्धी परामर्श, इको कार्डियोग्राफि, इसिजी र औषधी वितरण सम्बन्धी सेवा निशूल्क रुपमा उपलब्ध गराइएको छ । शिविरमा जलजला गाउँपालिकाको नौ वटै वडाका साथै बेनी, बागलुङ, कुश्माका सर्वसाधारणले पनि सेवा पाएका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
शिक्षण अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, मृगौलारोग विशेषज्ञ दिव्या सिंह शाह, रत्नमणी गजुरेल, प्रभात खकुरेल, सुर्य देवकोटा, महेश सिग्देल, अभिशेक मास्के लगायत चिकित्सकहरुले सेवा दिनुभएको थियो । जलजला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र स्वास्थ्यकर्मीहरु पनि शिविरलाई ब्यवस्थित बनाउन परिचालन भएका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताउनुभयो ।
मुट जोगाऔ काठमाडौको समन्वयमा हालसम्म नेपालका ३३ वटा जिल्लाका एक सय ४० स्थानमा सम्पन्न भएका शिविरमा दुई लाख ५० हजारको मुटु परिक्षण र आठ सय जनाको मुटुरोग सम्बन्धी शल्यक्रिया भएको महासचिव रानाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!