पर्वत– विश्वभरी छरिएर रहेका प्रवासी पर्वतेलीहरुको साझा संस्था ग्लोबल पर्वत समाजको कार्यालय पर्वत सदरमुकाम कुश्माबजारमा स्थापना गरिएको छ ।
कुश्मा नगरपालिका वडा नं. ४ स्थित पुरानो चौकी नजिकै कार्यालय स्थापना गरिएको हो । संस्था स्थापना भएको झण्डै एक दशकमा गृह जिल्लामा कार्यालय स्थापना गरिएको संस्थाले जनाएको छ ।
कार्यालयको ग्लोबल पर्वत समाजका अध्यक्ष दधि आचार्यले उद्घाटन गर्नुभएको छ । कार्यालय उद्घाटन गर्दै आचार्यले अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वत जिल्लाको विकास र परिवर्तनका लागि लामो समयदेखि योगदान गर्दै आएको बताउनुभयो । समाजका हरेक गतिविधि संचालन गर्न र आवश्यक दस्ताबेजहरु राख्न तथा नेपालमा भैरहेका गतिविधि र विदेशमा भैरहेका गतिविधिहरुदाई आदानप्रदान गर्नका लागि कार्यालयमार्फत सहज हुने बताउनुभयो । उहाँले उक्त कार्यालयलाई व्यवस्थित रुपमा संचालनका लागि कर्मचारी व्यवस्थापन गर्ने र संस्थाले हालसम्म गरेका कामहरु तथा भावी योजनाहरुलाई व्यवस्थित र दस्तावेजीकरण गर्दै जाने बताउनुभयो ।

ग्लोबल पर्वत समाजले पर्वतमा शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा विपन्न तथा दलित समुदायमा विभिन्न राहतमुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
कार्यालय शुभारम्भ कार्यक्रममा समाजका उपाध्क्ष रुद्रशर्मा लम्साल, बाबुराम शर्मा, पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, संस्थाका लेखा संयोजक शेषराज रेग्मी, पुर्व जनप्रतिनिधि देवेन्द्र सुवेदी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन कलाकार आरसी पौडेलले गर्नुभएको थियो ।
पन्चकन्या सहित बिधिवत रुपमा कार्यालय उद्घाटन गरिएको हो ।






