पर्वतको पैंयूमा चिल्ड्रेन पार्क निर्माण सम्पन्न    - News site from Nepal
पर्वतको पैंयूमा चिल्ड्रेन पार्क निर्माण सम्पन्न   
पर्वत, २३ असार : बालबालिकाहरुका शारिरीक तथा संवेगात्मक विकासमा योगदान पुर्‍याउने उद्धेश्यले पर्वतमै पहिलो आधुनिक बाल उद्यान निर्माण सम्पन्न भएको छ ।
दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै जिल्लामै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण भएको हो । गाउँपालिका, गण्डकी प्रदेश सरकार र पैंयू गाउँपालिका वडा नं. ५ कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारको रु. दश लाख, स्थानीय वडा कार्यालयको रु. चार लाख र पैंयूँ गाउँपालिकाको रु. एक लाख गरी रु. १५ लाख लगानीमा बालउद्यान निर्मा०ा सम्पन्न भएको पैंयू गाउँपालिका वडा नं. ५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिनुभयो ।
“ग्रामीण क्षेत्रमा जनसंख्या न्यून हुँदै गईरहेका बेला बालबालिकाका क्षेत्रमा किन लगानी गर्ने ? भन्ने परम्परागत सोच र चुनौतीहरूलाई चिर्दै पैयूँ–५ का वडा भुर्तेलको पहलमा बाल उद्यान निर्माण गरी संचालनको तयारी गरिएको हो ।
पार्क निर्माण सम्पन्न भएपछि ग्रामीण क्षेत्रका रहेका बालबालिकाहरुलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने वडा अध्यक्ष भुर्तेलले बताउनुभयो । भुर्तेलले भन्नुभयो—‘म जनप्रतिनिधि भएर आउँदा हरेक नागरिकले परिवर्तनको आभास पाउनुपर्छ भन्ने संकल्प थियो । चाहे एउटा बच्चा होस् या हजारौँ, बालअधिकार र उनीहरूको खुसीको मूल्य समान हुन्छ । गाउँका बच्चाहरूले पनि सहर वा विदेशका बालबालिका जस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका साथ हामीले यो सपना देख्यौँ । यो पार्क बालबालिकाको क्षेत्रमा गरिएको महत्वपूर्ण लगानी र उनीहरूको सुनौलो भविष्यप्रतिको सामूहिक जिम्मेवारीको सुन्दर प्रमाण हो ।’
गाउँपालिकाकै एकमात्र यस पार्कले स्थानीय मात्र नभई वरपरका अन्य गाउँ र बजार क्षेत्रका बालबालिकाहरूलाई समेत समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोडिने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरी बालबालिकाका लागि खुल्ला गरिने वडा कार्यालयले जनाएको छ । यहाँ बालबालिकाका लागि विभिन्न खेल खेल्ने र मनोरञ्जन लिने तथा अध्ययनका लागि विभिन्न उपकरण र सामाग्रीहरु राखिएको छ ।
 यसैबीच पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले यो पार्कलाई पर्यटकीय आकर्षणका लागि अन्य भौतिक संरचना थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!