पर्वत, २१ पुस । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सव शनिवार सम्पन्न भएको छ ।
पुस ९ देखि १९ गतेसम्म गरी एघार दिनसम्म संचालन गरिएको महोत्सवमा रु. पाँच करोड भन्दा बढिको कारोबार भएको छ । महोत्सवमा राखिएका स्टल, रमाईलो मेला, विभिन्न वित्तिय संघ संस्था लगायतका विभिन्न गतिविधिहरुमा गरि रु. पाँच करोड भन्दा बढिको कारोबार भएको मुल संयोजक ठाकुर वि पौडेलले जानकारी दिनुभयो । महोत्सवमा झण्डै एक सय ५० भन्दा बढि स्टल राखिएको थियो ।
विगतका वर्षको तुलनामा यस वर्ष दर्शकको संख्या ह्वात्तै बढ्नुका साथै महोत्सव भित्र संचालन भएका स्टलहरुमा ब्यापार व्यावसाय मसेत बढेको मुल संयोजक पौडेलले जानकारी दिनुभयो । विशेषगरी स्थानीय उत्पादनहरुका स्टलहरुमा र जाडो समय भएकाले न्यानो कपडा, सिरक, दसना, लगायतका सामाग्रीहरुको ब्यापार बढि भएको छ । महोत्सवमा सामानहरुको भाउ सस्तो हुने भन्दै गाएँगाउँदेखि ग्राहकहरु आईपुगेका थिए ।
महोत्सवमा संचालित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाको बिरुवा नगरपालिकाले हात पारेको छ । बागलुङको गलकोट नगरपालिकालाई २/३ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै रु. दुई लाख ३३ हजार तीन सय ३३ रुपैया सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी दोस्रो स्थान प्राप्त गरेको गलकोट नगरपालिकाले रु. एक लाख ११ हजार एक सय ११, तेस्रो स्थान प्राप्त गरेको कुश्मा नगरपालिकाल रु. ६६ हजार छ सय ६६ नगद पुरस्कार र मेडल प्रदान गरिएको छ । यसैगरी खुल्ला लोक दोहोरी गीत प्रतियोगिता लोक दोहोरी प्रतिष्ठान स्याङ्जा प्रथम, दोस्रो दरबार रोधी घर काठमाण्डौ, तेस्रो दिलिप मानन्धरको समुह स्याङ्जा र सान्त्वना कास्की प्रतिष्ठान भएका छन् । प्रथम हुनेले रु. एक लाख ३३ हजार र प्रमाणपत्र, दोस्रो हुनेले रु ६६ हजार ६ सय ६६ हजार र प्रमाणपत्र, तेस्रो हुनेले रु ३३ हजार तीन सय ३३ र प्रमाणपत्र यस्तै सान्वना स्थान हुनेले रु १६ हजार हात पारेका छन् । यसैगरी टिकटक च्यालेन्ज प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन चुड्का प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता समेत सम्पन्न भएका छन् ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय गरी झण्डै एक सय जना कलाकारहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए भने तीनवटा रात्रीकालीन लाईभ कन्सर्ट प्रस्तुत गरिएको थियो । एक लाख दर्शले अबलोकन गर्ने अपेक्षा गरिएको भएपनि त्यो भन्दा बढिको उत्साहजनक सहभागिता रहेको पर्वत उद्योग बाणिज्य संघका महासचिब खड्गप्रसाद खनालले जानकारी दिनुभयो । ‘यसपटक विगतका वर्षहरु भन्दा दर्शकको सख्या ह्वात्तै बृद्धि भएको पाएका छौ ।’ उहाँले भन्नुभयो ।
महोत्सव समापनको अवसरमा गायब प्रमोद खरेलको परम्परा ब्याण्डको रात्रीकालीन लाईभ कन्सर्टका साथै महोत्सव अवधिभर संचालन भएका विभिन्न प्रतियोगितामा बिजयी भएकाहरुलाई पुरस्कार वितरण र महोत्सवका सहयोगीहरुलाई मायाको चिनो प्रदान तथा सम्मान गरिएको थियो ।
‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिनुका साथै सुन्तला, लप्सी लगायत कृषि प्रदर्शनी र विक्रिका स्टल गरी एक सय ५० भन्दा बढि स्टलहरु रहेका थिए । महोत्सवले विशेषगरी पर्वतको पर्यटन प्रवद्र्धन, कला संस्कृतिको जगेर्नाका साथै आर्थिक गतिविधि चलायमान बनाउन सघाउ पुगेको मुल संयोजक पौडेलको भनाई रहेको छ ।
आठौ पर्वत महोत्सवको समग्र आम्दानी र खर्चको यकिन विवरण भने आईनसकेको मुल संयोजक पौडेलले बताउनुभयो ।






