काठमाडौँ – राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिनायता बजार मूल्य निरन्तर बढिरहेकाले उपभोक्ता मारमा परेका छन् । चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्यवृद्धिले भान्सा महँगिएको छ । खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छाडेको छ । आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढाएको छ ।
तरकारीको मूल्य पनि अकासिएको छ । दसैंतिहार नजिकिँदै जाँदा त्यसै पनि मूल्यवृद्धि हुने प्रवृत्ति रहे पनि अहिले वर्षाका कारण ढुवानी प्रभावित भएको भन्दै व्यवसायीले मूल्य बढाइरहेका छन् । सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएका कारण उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ताकर्मीको गुनासो छ । तीन महिनामा चामलको मूल्य बोरामै ४ सयसम्म वृद्धि भएको छ । दुई महिनामा चिनी प्रतिकिलो २० रुपैयाँ महँगिएको छ । तेल प्रतिलिटर ३ सय र अन्डा प्रतिक्रेट ६ सय पुगेको छ । भारतबाट खरिद गरिने धानको मूल्य नै निरन्तर बढिरहेकाले चामल पनि महँगिएको नेपाल चामल, तेल, दाल उत्पादक संघका सदस्य विभोर अग्रवालले बताए । ‘भारतमा धान किन्दा प्रतिक्विन्टल ९ सय भारुसम्म बढेको छ । ढुवानी भाडालगायत जोड्दा चामलको बजार मूल्य महँगो भइहाल्छ,’ उनले भने । ‘मागअनुसार नेपालमा धान उत्पादन नहुने भएकाले आयातमै निर्भर छौं,’ उनले भने । राधाकृष्ण राइस मिल्सका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवालले तीन महिनाअघि प्रतिबोरा २१ सय रुपैयाँ रहेको जिरा मसिनो चामलको मूल्य अहिले २५ सय रुपैयाँसम्म पुगेको छ ।
मूल्यवृद्धिको गुनासो बढेपछि २ असारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले तेल, चामलदेखि तरकारीसम्मका अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाई बजार भाउ घटाउन निर्देशन दिएकी थिइन् । तर उनको निर्देशन पालना भएन । ‘चामल बोरामै ३ सयदेखि ४ सय रुपैयाँ बढिसकेको छ,’ उनले भने । वैशाख–जेठमा बर्ड फ्लु फैलिएपछि अन्डाको मूल्य घटेको थियो तर अहिले मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार एक सातामै धेरै ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५ सय १५ बाट ५ सय ४५, ठूलो अन्डा ५ सयबाट ५ सय ३० र मध्यम (मिडियम) ४ सय ७० बाट ५ सय रुपैयाँ पुगेको छ । बजारमा भने उपभोक्ताले प्रतिक्रेट ६ सय रुपैयाँसम्म तिर्नुपरिरहेको छ । बर्ड फ्लु फैलिनुअघि ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३५ रुपैयाँ थियो । तर बर्ड फ्लु फैलिएको हल्लापछि मूल्य घटेर प्रतिक्रेट ४ सय ७५ पुगेको थियो ।
बर्ड फ्लुका कारण अन्डा दिने १२ लाख कुखुरा नष्ट भएका कारण अहिले अन्डाको उत्पादन नै घटेको नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले बताए । उनका अनुसार नेपालमा दैनिक ३० देखि ४० लाख वटासम्म अन्डा खपत हुन्छ तर उत्पादन २९ देखि ३० लाख वटा मात्रै छ । ‘तीन वर्षअघि प्रतिक्रेट ७ सय ५० रुपैयाँसम्म पुगेको थियो । त्यसैले अहिले मूल्य धेरै महँगो भन्न मिल्दैन,’ उनले भने । बजारमा अन्डाको मूल्य बढे पनि किसानले अझै लागत मूल्य पाउन नसकेको पोखरेलले बताए । ‘अहिले किसानले ५ सय रुपैयाँमा अन्डा बिक्री गरिरहेका छन्, उपभोक्तासम्म पुग्दा ६ सय रुपैयाँभन्दा बढी पर्ला,’ उनले भने, ‘फार्मबाटै प्रतिक्रेट ५ सय ७३ रुपैयाँमा बिक्री गरे मात्र किसानले लागत मूल्य पाउँछ ।’
१७ असारमा लाम्चो भन्टा प्रतिकिलो होलसेल मूल्य प्रतिकिलो १४ रुपैयाँ २५ पैसा रहेकामा १७ साउनमा आइपुग्दा ४५ रुपैयाँ पुगेको छ । तीतेकरेलाको मूल्य २५ रुपैयाँबाट ५८.३३ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । रायो साग प्रतिकिलो ३५ रुपैयाँ रहेकामा १ सय ७५ रुपैयाँ, पालुङ्गो साग ५५ रुपैयाँ रहेकामा २ सय ७५ रुपैयाँ र तोरीको साग प्रतिकिलो ४५ सय रुपैयाँ रहेकामा १ सय २५ रुपैयाँ पुगेको छ । रायो सागको होलसेल मूल्य १ सय ७५ रुपैयाँ भए पनि खुद्रा बजारमा दुई सय रुपैयाँभन्दा बढी परिरहेको छ ।
समितिका अनुसार कुरिलोको मूल्य प्रतिकिलो २ सय ७६ रुपैयाँ ६७ पैसाबाट ४ सय ५० रुपैयाँ, केराको मूल्य प्रतिदर्जन २२६.६७ रुपैयाँबाट २ सय ७५ रुपैयाँ पुगेको छ । अधिकांश तरकारीको मूल्यवृद्धि भए पनि स्थानीय काँक्रो र टनेलको गोलभेंडाको मूल्य घटेको छ । स्थानीय काँक्रो प्रतिकिलो ६५ रुपैयाँबाट ३५ रुपैयाँ र टनेलको सानो गोलभेंडाको मूल्य प्रतिकिलो २० रुपैयाँबाट १९ रुपैयाँ ८३ पैसामा ओर्लिएको छ । मुडेको रातो आलु प्रतिकिलो ३३.२५ रुपैयाँबाट ५०.५० रुपैयाँ पुगेको छ ।
ekantipur.com






