कांग्रेस उम्मेदवार अर्जुनप्रसाद जोशीद्वारा पर्वतवासीलाई भावुक अपिल - News site from Nepal

पर्वत — नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वत जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई भावुक अपिल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न आग्रह गरेका छन्।

जोशीले आफ्नो ३५ वर्ष लामो सक्रिय राजनीतिक जीवन पर्वतको माटोसँग जोडिएको उल्लेख गर्दै जनताको सुख–दुःखमा सधैं साथमा रहेको दाबी गरेका छन्। उनले पार्टी जीवनसँगै जनप्रतिनिधिको भूमिकामा रहँदा जिल्लाको विकास, सुशासन र समृद्धिका लागि निरन्तर काम गरेको बताएका छन्।

अपिलमार्फत जोशीले पछिल्लो पुस्ताले इतिहास सुनाउनेभन्दा भविष्य देखाउने नेतृत्व खोजेको उल्लेख गर्दै कांग्रेसभित्र भएको नेतृत्व र नीतिगत रूपान्तरणलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा प्रस्तुत गरेका छन्। विशेषगरी भदाै २३ र २४ गते भएको जन–जी आन्दोलनले व्यक्त गरेको भ्रष्टाचार, बेथिति र अधिनायकवादविरुद्धको जनभावनालाई कांग्रेसले आत्मसात् गरेको उनको भनाइ छ।

उनले पर्वतको भौगोलिक विविधता र जनताको भावना आफूले नजिकबाट बुझेको बताउँदै विकास, सुशासन र समुन्नतिलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। यस निर्वाचनलाई आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको उल्लेख गर्दै जोशीले यसपटक आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

जोशीले मतदाताको सुझाव, गुनासो र अपेक्षालाई सधैं पार्टी नेतृत्वसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाउँदै समय अभावका कारण सबै घरमा पुग्न नसके पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताएका छन्।

अन्त्यमा उनले पर्वतको विकास, समृद्धि र सुशासनलाई निर्णायक चरणमा पुर्‍याउन नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्दै देश निर्माणको अभियानमा साथ दिन अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!