पर्वत १९ चैत : पर्वतमा आजवाट संचालित एसईई परिक्षाको उत्तरपुस्तिका परिक्षण शुरु भएको छ ।
सदरमुकाम कुश्मामा रहेको शिक्षा विकास तथा समन्वय ईकाई पर्वतको कार्यालयमा उत्तरपुस्तिका परिक्षण शुरु भएको हो । जिल्लाका ९ वटै परिक्षण केन्द्रवाट उत्तरपुस्तिकाहरु सदरमुकाम आएसँगै समय तालिका निर्धारण गरेर परिक्षण र सम्परीक्षण शुरु गरिएको समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जिल्लाका सवै केन्द्रका उत्तरपुस्तिकाहरु शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमै परिक्षण गरिने उहाँले बताउनुभयो । आज अनिवार्य अंग्रेजी विषयको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
यस वर्ष पर्वत जिल्लाबाट नियमिततर्फ १ हजार ६ सय ८३ जना विद्यार्थीले फारम भरेकोमा पहिलो दिन नौ जना अनुपस्थित रहेको कार्यालयले जनाएको छ । चैत ३० गते भित्र सवै विषयको उत्तरपुस्तिका परिक्षण गरेर नम्वर सिटहरु केन्द्रमा पठाईने कार्यालय प्रमुख चपाईले जानकारी दिनुभयो ।
नेपालमै सवैभन्दा छिटो पर्वतवाट उत्तरपुस्तिका परिक्षण शुरु गरिएको कार्यालय प्रमुख चपाईको दावी छ । जुन दिनको परिक्षा सोहि दिन परिक्षण र सम्परीक्षण गरिने भएको छ ।






