पर्वत– आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु गाउँ केन्द्रीत बनेका छन् । मतदाताहरुसँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनले र मतप्रभावित पार्ने काममा उम्मेदवार सक्रिय बनेका छन् । दलहरु गाउँ छिरेसँगै सदरमुकाम भन्दा ग्रामीण क्षेत्रमा चुनावी सरगर्मि बढ्दै गएको छ ।
पर्वतमा १३ वटा राजनीतिक दलका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । जस मध्ये शिर्ष चार दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसबाट अर्जुनप्रसाद जोशी छैटौ पटक चुनावी मैदानमा आउँदा नेकपा एमालेवाट पदम गिरी तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ । जोशी र गिरी तीन पटक आमनेसामने हुनुभएको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीवाट मनहरी शर्मा पहिलोपटक उम्मेदवार बन्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीवाट सागर भुसाल उम्मेदवार हुनुहुन्छ । काँग्रेसले पिपलटारी, एमालेले दुर्लुङ्ग, नेपाली कम्युनिष्ट पार्टीले राम्जादेउराली र राष्ट्रिय स्वतन्त्र पार्टीले फलेवासवाट आफ्नो चुनावी अभियान थालेका छन् । अहिले उनिहरु टोलटोलमा पुग्नुका साथै घरदैलो गरिरहेका छन् ।
यसैबीच आज सोमवार नेकपा एमालेको चुनावी अभियान पैंयु गाउँपालिका वडा नं. १ टकलाकको सिगारकोषबाट औपचारिक रुपमा घरदैलो, भेटघाट तथा तथा छलफल कार्यक्रम गरेको छ । काँग्रेसले चित्रे, राम्जा, पकुवा, घरदैलो भेटघाट तथा अन्तरक्रिया गरेको छ भने नेकपाले कुश्मा नगरपालिका वडा नं. ९ र १० मा अभियान संचालन गरेको जनाएको छ । यसैगरी राश्वपाले मोदी गाउँपालिकाको देउरालीमा सम्पन्न गरेको छ ।

राजनीतिक दल र उम्मेदवारलाई मत आफ्नो पोल्टामा पार्ने चिन्ता र चासो बढिरहेको बेला मतदाताहरुका भने आफ्नै कथा ब्यथा देखिन्छन् । जाने बुझेका मतदाताले स्थानीय समस्यासँगै मुलुकमा बढ्दै गएको बेथिति, भ्रष्टाचारको अन्त्य गर्न माग गरेका छन् भने अन्य मतदाताहरुले सडक स्तरोन्नती, बाँदर आतंक नियन्त्रण, सिंचाई, गुणस्तरीय स्वास्थ्य सुविधा, रोजगारीको अभाव लगायतका मागहरु उम्मेदवारसँग राखिरहेका छन् ।
पर्वतका सातवटा पालिकाका ६१ वटा मध्ये सवै पालिकामा कालोपत्र सडकको पहुँच विस्तार भएको छ भने अधिकांस वडासम्म पनि कालोपत्र सडकको पहुँच पुगेको छ । अब टोल र बस्तीसम्म पनि गुणस्तरीय सडक निर्माण गर्न स्थानीइले माग गरेका छन् ।
ग्रामीण क्षेत्रमा सवैभन्दा चुनौती र जटिल विषय बनेको छ बाँदर आतंक । उम्मेदवारहरुका घोषणापत्रमा पटक पटक बाँदर आतंक नियन्त्रण गर्ने कार्ययोजना समेटिएको भएपनि अहिलेसम्म कसैले पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन । यसका लागि प्रभावकारी कानून नबन्दा समस्या भएको र अब जितेर गईसकेपछि प्रमुख मुद्धाको रुपमा उठान गर्ने उनिहरुले आश्वासन दिएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले पार्टीलाई रुपान्तरण गरेसँगै अब पर्वत जिल्ला र समग्र मुलुकलाई रुपान्तरण गर्न आफु चुनावी मैदानमा आएको बताउनुभएको छ । उहाँले आफ्दो पाँच दशक लामो राजनीतिक यात्रामा धेरै अनुभवहरु हासिल गरेको र नयाँ पुस्ताको माग अनुसार आफु अघि बढ्ने उहाँले बताउँदै आउनुभएको छ । ठुला र असम्भव महत्वकांक्षी योजना नभई जनताका आवश्यकता र चाहाना बमोजिमका काम गनका लागि अन्तिम पटक आफुलाई मत दिन उहाँले आग्रह गर्नुभएको छ ।
नेकपा एमालेका उम्मेदवार पदम गिरीले आफुले अघिल्ला दुई कार्यकालमा जिल्लाको विकास निर्माणका लागि धेरै कामहरु गरेको र केहि काम पुरा गर्न बाँकी रहेकाले फेरी एक पटक जनतासँग मत माग्न आएको बताउने गर्नुभएको छ । वि.सं. २०७९ सालको निर्वाचनमा पर्वतवासी जनताले पाँच वर्षका लागि जिताएर पठाएका हुन्, तर बिचमै छाडेर आउने म्याण्डेट दिएका होईनन् त्यसैले अपुरो कार्यकाल पुरा गर्न र अपुरो विकास र समृद्धिको चाहना पुरा गर्नका लागि आफुलाई जिताउन आग्रह गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी शर्माले समग्र पर्वतको विकासका लागि धेरै काम गर्नुपर्ने आवश्यकता देखिएको र यस अघिका प्रतिनिधिसभा सदस्यहरुवाट हुन नसकेकोले आफु चुनावी मैदानमा आएको बताउनुभयो । उहाँले दुई वर्षसम्म पर्वतका कुना कुनामा परेर अध्ययन अनुसन्धान गरी २३ वटा नयाँ योजना निर्माण गरेर आफु मतदाताबीच आएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, स्वरोजगार, पुर्वाधार, औद्योगिकरण सँगै बाँदर नियन्त्रण लगायतका योजनाहरुको खाका सहित मतदातामाझ आएकोले ती योजना पुरा गरी पर्वतको मुहार फेर्न आफुलाई जिताउन आग्रह गर्नुभएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसालले अहिले मुलुकमा भैरहेको शासन व्यवस्थाले कुनैपनि निकास दिन नसक्ने भएकाले पहिला निति र विधि परिवर्तनका लागि आफु चुनावी मैदानमा आएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुलुककै पहिलो दल बनाएर नयाँ शिराबाट मुलुकलाई अघि बढाउन आफु उम्मेदवारको रुपमा आएको उहाँको भनाई छ । मतदातासँग अहिले यो गर्छु, उ गर्छु भनेर विभिन्न आश्वासन बाड्नुभन्दा पनि महिला मुलुकको सिस्टम परिवर्तन भयो भने सवै सुधार गर्न सकिने उहाँको दावी छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी मंगोल नेशनल पार्टी, आम जनता पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरुले पनि आफ्ना चुनावी गतिविधिहरुलाई सुक्ष्मरुपमा संचालन गरिरहेको जानकारी दिएका छन् ।
आगामी निर्वाचनका लागि पर्वतका एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र कायम गरिएको छ ।






