पर्वत– प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पर्वत जिल्लाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतलाई आज र भोली निर्वाचन सामग्री वितरण गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, पर्वतका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाभर खटिएका मतदान अधिकृतहरूले निर्धारित मितिमा निर्वाचन सामग्री अनिवार्य रूपमा बुझ्नुपर्ने सूचनामार्फत जानकारी गराइएको छ ।
सूचनामा उल्लेख भएअनुसार मतदान अधिकृतहरूले आज विहान ९ः०० बजेदेखि कार्यालयमा उपस्थित भई सुरक्षा व्यवस्था सहित निर्वाचन सामग्री बुझ्नुपर्नेछ । साथै, सोही दिन मतदान केन्द्रतर्फ प्रस्थान गर्ने तयारी मिलाउन समेत अनुरोध गरिएको छ ।
कार्यालयले तोकिएको समयमा उपस्थित नभएमा निर्वाचन व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले सबै मतदान अधिकृतलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ।






