पर्वत १७ फागुन : रोजगारी, अध्ययन तथा विभिन्न कारणले विश्वभर छरिएर रहेका पर्वतेली नागरिकहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले प्रदेश अस्पतालको सौन्दर्यीकरण गर्नका लागि झण्डै रु. ४२ लाखको परियोजना सम्प्न्न गरेको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको सहजता र अस्पतालको आवरणलाई आकर्षक र बिरामीमैत्री बनाउनका लागि ती संरचनाहरु निर्माण गरिएको हो । झण्डै दुई वर्षदेखि निर्मित परियोजना शनिवार एक समारोह बीच अस्पताललाई हस्तान्तरण गरिएको छ । झन्डै रु.४२ लाख रुपैयाँको लागतमा सम्पन्न उक्त परियोजनाले अस्पतालको भौतिक संरचना, वातावरण तथा सेवाग्राही प्रतिक्षालयलाई थप व्यवस्थित र आकर्षक बनाईएको छ ।
सौन्दर्यकरण परियोजनाअन्तर्गत अस्पतालको हाताभित्र चिल्ड्रेन पार्क र प्रतीक्षालय सहित सुन्दर बगैँचा निर्माण, चौतारी, कलात्मक ढुङ्गे धारा निर्माण, बुद्धको मूर्ति स्थापना, फुटपाथ निर्माण, साथै खुल्ला व्यायामशाला निर्माण गरिएको छ भने अस्पताल भित्र रहेको मन्दिरको जीर्णोद्धार समेत भएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, एनआरएनएका पुर्व अध्यक्ष कुल आचार्य, संस्थापक प्रमुख संरक्षक हितकाजी गुरुङ, संरक्षक कृष्ण तिवारी, सल्लाहकार मनहरी शर्मा लगायतको सहभागितामा हस्तान्तरण गरिएको हो ।
त्यसैगरी परियोजना प्रतिक्षालयका सौजन्यकर्ता कलाधर गिरी, इन्द्रकुमारी गिरी, कुमारी पुन, सुस्मिता गिरी, कलाकार तथा पत्रकार, अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष शंकर गिरी, वर्तमान अध्यक्ष याम परियार लगायतको सहभागिता रहेको थियो ।
समारोहमा वक्ताहरूले सामाजिक सेवाका यस्ता पहलले स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्मा गुँरासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष दधि आचार्य र संचालन महासचिब कमल लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष तिलक सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।
परियोजना सम्पन्न गर्न बेल्जियम च्यारिटी कार्यक्रम संयोजक प्रमुख संरक्षक झलक के.सी.सहित सम्पूर्ण च्यारिटी कार्यक्रम परिवार, कार्यसमिति सदस्यहरू तथा सहयोगी मनहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।






