पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा रहेको आदर्श अंग्रेजी आवासीय माविको ३७ औँ बार्षिकोत्सव समारोह विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गदैै प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बालबालिकालाई व्यवाहारिक र जीवनउपयोगी शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । देशको माटोलाई माया गर्ने खालको जनशक्ति उत्पादन गर्नुपर्ने उहाँको भनाई छ । अहिलेको शिक्षा निति र पाठ्यक्रम कत्तिको जीवनउपयोगी छ भन्ने बारेमा समिक्षा गर्न जरुरी रहेको भन्दै १२ कक्षा अध्ययन गरेपछि विदेश जाने प्रचलन रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी किरण पौडेल, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत विष्णुप्रसाद तिवारी, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष सन्तोष थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय संचालक समितिका अध्यक्ष दयाराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेलले विद्यालयका शैक्षिक गतिविधि, भावी योजना र विद्यालयले गर्दै आएका क्रियाकलाप र गुणस्तर सुधारका लागि भैरहेका प्रयासका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो सामुहिक वा एकल प्रस्तुतीहरु समेत राखेका थिए भने गत शैक्षिक सत्रदेखि हालसम्म भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक मिनबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेना २३ नं. बाहिनी बागलुङका सहायक रथी जगतबहादुर पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, पत्रकार तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।






